हेटौँडाः भन्सार छलेर ल्याएको ७७ लाख रुपैयाँ बराबरको सामान मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राती मकवानपुर प्रहरीले मनहरीबाट सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको मनहरी–७ मा बागमती बि ए डी ४३७० नम्बरको गाडीबाट अबैध सामान बरामद गरेको हो । लोथरबाट हेटौँडातर्फ आउँदै गरेको गाडीलाई सुरक्षाजाँच गर्दा भन्सार छलेर ल्याएको बिलबिजक नभएका बिभिन्न किसिमका साडी, कुर्था सुरुवाल, टिसर्ट, पाईन्ट, जुत्ता लगायतका लत्ताकपडाहरु २ हजार ७ सय ४४ थान, आईफोन, सामसङ, भिभो, आईटेल, रेड्मी, लगायतका ८२ थान मोबाईलहरु र सवारी साधन समेत गरी ७७ लाख बराबरको समान बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले सामानसहित गाडी चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।