हेटौँडाः हेटौँडामा आधारभूत सहकारी लेखापाल तालिम सुरु भएको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी विकास बोर्डको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
सोमबारसम्म चल्ने तालिममा बहुउद्देश्यीय, बचत तथा ऋण र कृषि सहकारीका गरी २० जनाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षकको रुपमा रामेश्वर अर्याल, सीताराम दाहाल, नवराज खनाल र गोविन्द दाहाल रहनुभएको छ । संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको तालिममा उद्घाटन कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका शाखाका रजिष्ट्रार रोहित पौडेल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल र हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।