हेटौंडाः नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा आज शुक्रबार सुरु हुँदैछ । हेटौँडामा हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु हुनेछ ।

बिहीबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गर्दै साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी गराउनुभयो । साधारणसभामा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको आतिथ्य रहनेछ ।

शनिबारसम्म सञ्चालन हुने साधारणसभामा देशभरबाट एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता रहने आयोजकले जनाएको छ । सभाको उद्घाटनमा ‘निर्माण विशेषाङ्क’ स्मारिका विमोचन हुनेछ । साधारणसभामा महासंघका महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेश गर्नु हुनेछ ।

साधारणसभामा निर्माण उद्योगमा देखिएका चुनौतीहरुबारे छलफल हुनेछ भने निर्माण उद्योगको विकास र विस्तारका लागि महत्वपूर्ण निर्णयहरु गरी घोषणापत्र जारी हुने आयोजकले जनाएको छ । महासंघका अध्यक्ष सिंहको अध्यक्षतामा सभाका लागि मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । साधारणसभा स्थलमा २४ वटा निर्माण कम्पनीसँग सम्बन्धित स्टलहरू पनि रहनेछन् । साधारणसभा सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

२५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास महासंघले लिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन आउनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान नहुने भन्दै उहाँले निर्माण उद्योगमैत्री ऐन कानून आजको आवश्यकता भएको बताउनुभयो । सरकारले अब व्यवसायीहरूलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्ने अध्यक्षको सिंहको भनाइ थियो ।

महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, सञ्चार जगत कसैले बुझ्न नसकेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको नबुझ्न सञ्चार जगत समक्ष आग्रह गर्नुभयो । निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योग सबल भएमात्र राष्ट्रको वास्तविक विकास हुने बताउनुभयो ।