मुलुकको सामुदायिक विद्यालयको शैक्षिक अवस्था सन्तोषजनक छैन । सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्न सबैतिर चिन्ता र चासो व्यक्त गर्ने गरिएको पाइन्छ । केही विद्यालयबाहेक अधिकांश सामुदायिक विद्यालयमा न्यून विद्यार्थी संख्या रहेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्न नसक्नु र विद्यार्थीको नतिजासमेत कमजोर हुनु चिन्ताको विषय हो । सामुदायिक विद्यालयमा देखिएको विविध समस्या र उचित व्यवस्थापनको कमीले निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो । सबै सामुदायिक विद्यालयले आशातित सफलता हासिल गर्न नसक्नुमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राज्यका शैक्षिक प्रशासनिक संयन्त्र सबै जिम्मेवार छन् । पछिल्लो समय विद्यालय तहको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहमा आएका कारण सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न स्थानीय सरकार बढी उत्तरदायी बन्नुपर्ने देखिएको छ ।
विद्यालय शिक्षासँ ग प्र त्यक्ष सम्बन्ध राख्ने शिक्षक र विद्यालय व्यवस्थापनको जिम्मा पाएको स्थानीय सरकारबीच उचित समन्वय र सहकार्य हुन सकेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्नसक्छ । यही तथ्यलाई मध्यनजर गर्दै मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सामु दायिक विद्यालयका प्र धानाध्यापकसँ ग २४ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि गाउँपालिकाले कार्यसम्पादन सम्झौता गरेको हो । गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको कार्यसम्पादनको मस्यौदामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् विद्यालयका प्रधानाध्यापक समेतबाट प्राप्त सुझावलाई समेटेर कार्यसम्पादन सम्झौतालाई अन्तिम रुप दिइएको जनाइएको छ । मस्यौदामाथि छलफल गरेर प्राप्त सुझावसमेत समेटिएको हुँदा यो सम्झौता कार्यान्वयन गर्न सहज हुने विश्वास पालिकाको छ । पालिकासँग कार्यसम्पादन सम्झौता गरेका ३७ वटा विद्यालयका प्रधानाध्यापकले अब आ–आफ्ना विद्यालयका शिक्षकहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।
कार्यसम्पादन सम्झौतामा प्रधानाध्यापकले चैत मसान्तभित्र आगामी शैक्षिक सत्रका लागि वार्षिक कार्यतालिका तयार गर्नु पर्नेछ । विद्यालय सुधार योजना निर्माण गर्ने, प्रत्येक शिक्षकले वार्षिक शैक्षिक र सिकाई उपलब्धि वृद्धिको योजना बनाउने सम्झौतामा उल्लेख छ । विद्यालयहरुमा बालमैत्री बसाइ व्यवस्थापन र भयरहित सिकाई वातावरणको सुनिश्चित गरिने सम्झौतामा समेटिएको छ । विद्यार्थीको नियमितता र सिकाइ अवस्थाका बारेमा अभिभावकसँग त्रैमासिक अन्तरिक्रया गर्ने, श्रव्यदृश्य सामग्रीसहितको सिकाइ क्रियाकलापका लागि पूर्वाधार निर्माण गर्ने, विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवस मनाउने, फिडर विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लिडर विद्यालयले सहजीकरण गर्ने कार्यसम्पादन सम्झौता गरिएको छ ।
आफ्नो पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि मकवानपुरगढी गाउँपालिकाको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ । गाउँपालिकाले आगामी शैक्षिक सत्रको शैक्षिक क्यालेण्डर वितरण गर्दै आगामी जेठ मसान्तभित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने कार्ययोजना कार्यान्वयन गर्ने भएको छ । यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अभिमुखीकरण गराउने र गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाबापत अनुदान उपलब्ध गराएकोमा गाउँपालिकाले २०७६ सालदेखि १२ कक्षासम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले प्रधानाध्यापकहरुसँग गरेको कार्यसम्पादन सम्झौतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा त्यसले सहयोग गर्ने निश्चित छ । सरोकारवाला सबै पक्षको सहभागिता र सहमतिमा कार्यसम्पादन सम्झौता गरिएका कारण यसको कार्यान्वयन गर्न सहज हुने आशा गर्न सकिन्छ ।