हेटौंडाः विभिन्न घटनामा बागमती प्रदेशको चितवन र दोलखामा एकै दिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवमा एकै दिन २ जनाको मृत्यु भएको छ भने दोलखामा आगोले पोलेर एक वृद्धको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, देवघाटमा एकजना पुरुषको शव फेला परेको छ । बुधबार बिहान ७ बजेर ३० मिनेटको समयमा त्रिपुरेश्वर मन्दिरको प्यासेजमा नामथर नखुलेको अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, मोहनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ जिल्ला घर भई हाल मोहनपुरस्थित एक फर्निचरमा काम गर्दै आएका ४२ वर्षीय विष्णु परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
परियार मादकपदार्थ सेवन गरी २ दिनदेखि बिरामी अवस्थामा रहेको खबर प्राप्त हुनासाथ बुधबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा परियारको बुधबार बेलुका ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको बिगु गाउँपालिका–८, खोवाचाँगुमा आगोले पोलेर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८३ वर्षीय खड्कबहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार बिहान १ बजेको समयमा श्रेष्ठको जस्ताले बारेको जस्ताकै छाना भएको किराना पसलमा अचानक आगलागी आगलागी हुँदा आगोले जलेर घटनास्थलमा नै मृत्यु भएको थियो । आगोले पोली श्रेष्ठको शरीरको ५०% भाग जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगो स्थानीयको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा लिएको र आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।