हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडा खेलकुलद विकास समितिको आयोजनामा जारी अन्तरवडास्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा पहिलो चरणको २ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
पहिलो खेलमा वडा–१३ लाई १–० गोल अन्तरले हराउँदै वडा–१४ को समाज कल्याण क्लबले क्वार्टरफाइनलको यात्रा पूुरा गरेको छ । वडा–१४ को जितमा मनिष घलानले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच घोषित हुँदै घलानले १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, मंगलबार भएको दोस्रो खेलमा विजयी हुँदै १५ नम्बर वडाले क्वार्टरफाइनल खेलमा अफ्नो स्थान बनाउन सफल भएको छ । वडा–१६ लाई १–० गोल अन्तरले हराउँदै वडा–१५ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वडा–१५ का खेलाडी ऋषिराम मोक्तानको निर्णायक गोलमा वडा–१५ विजयी भएको हो । खेलको म्यान अफ द म्याच मोक्तान घोषित भएका छन् ।
प्रतियोगिताअन्तर्गत् आज बुधबारबाट क्वार्टरफाइनल चरणको खेलहरु सुरु हुनेछ । बुधबार पहिलो क्वार्टरफाइनल खेलमा १ बजे वडा–७ र वडा–१७ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वार्टरफाइनल खेलमा वडा–५ र वडा–१२ बीच प्रतिस्पर्धा हुनेछ । दुई समूहको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्र्फको उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुुमान छ ।