बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारलाई बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिनुभएको हो ।

बैठकमा सभामुख पाठकले प्रदेशसभाअन्तर्गत् बजेटबारे बहस गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्न अनुमति दिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रतिवेदनले आगामी बजेट बनाउँदा मार्गनिर्देशन गर्ने बताउनुभयो । प्रतिवेदन प्रदेशसभाबाट पारित भएपश्चात हुबहु कार्यान्वयन हुन जरुरी रहेकोसमेत उहाँले बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य भरतबहादुर केसीले विशेष समितिको प्रतिवेदनले आगामी दिनमा बजेट निर्माणमा सहयोग पुग्ने बताउनुभयो । सरकारले बजेट निर्माण गर्दा सन्तुलित हिसाबले सत्तापक्ष, विपक्ष नभनी जानुपर्नेमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ । यस्तै, प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठले विशेष समितिले तयार पारेको प्रतिवेदन छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक गोविन्द लम्सालले मंगलबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि बुधबारको बैठकमा छलफल गरी पारित भएको हो । सभामुख पाठकले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।