पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो

हेटौंडाः पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालको संविधान शासन र कुर्सी रक्षाको लागि मात्र भएको जिकिर गर्नुभएको छ । बहुल राष्ट्रिय प्रस्थावना राष्ट्रिय मुक्तिक्रान्तिको सन्दर्भमा हेटौंडा आइपुग्नुभएका महतोले बुधबार पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।

नेपालको संविधान सबै जनताको लागि नभएको बताउँदै शासन, सत्ता र कुर्सीकेन्द्रित भएको महतोले आरोप लगाउनुभयो । देशमा ७० वर्षमा ७ वटा संविधान बनेको भए पनि सबै संविधान असफल भएको उहाँको दाबी छ । देशमा भ्रष्टाचार कु–कर्मले फैलिँदै गएको भन्दै उहाँले राष्ट्रमा विभिन्न काण्ड आइरहेको बताउनुभयो ।

नेपालमा जनताको पहिचान मेटाउने काम भएको उहाँको भनाइ छ । देशमा जातजाति, भाषा, संस्कृतिको पहिचान विपरित सरकारले कानुन निर्माण गरेको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले कानुन बनाएर नै जनाताको पहिचान खोस्ने काम गरेको छ । नेपालको निर्माण बहु राष्ट्रिय आधार भयो, तर सरकारले उक्त कार्य गर्न सकेन ।’ प्रदेश नामाकरणमा जनताको मागअनुसार नभएर प्राकृतिक वस्तुको नाममा नामाकरण भएको उहाँको भनाइ छ । देशमा विभिन्न आयका स्रोत भए पनि नेपाल विश्वकै गरिब देशको सूचीमा रहेको उहाँले बताउनुभयो ।

देशमा बहुराष्ट्रिय राज्यको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ । नेपाल एकल राष्ट्रिय सोचबाट चलिरहेकोले बहुराष्ट्रिय राज्यको आवश्यकता रहेको उहाँको भनाइ छ । देशमा संविधान र शासन स्थिर भएमात्र देशमा परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो । जनताले गरेका पहिचानको आन्दोलनहरु असफल भएकाले सबै मिलेमात्र देशमा पविर्तन हुनसक्ने उहाँको भनाइ छ । जनताले एक पहिचान माग्ने तर सरकारले अर्काे पहिचान दिने गरेकोप्रति महतोले आपत्ति जनाउनुभएको हो । राष्ट्रमा संघीयता आएता पनि जनताले खोजेको संघीयता नआएको बताउँदै सरकारले प्रदेशमा अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।