गाँजासहित पक्राउ परेका (बायाँ) । चरेससहित पक्राउ परेका (दायाँ) ।

हेटौँडाः मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेससहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट गाँजा र चरेससहित एक–एक जनालाई पक्राउ गरेको हो ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले ८४ किलो १ सय २० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–७ का १९ वर्षीय साविर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी टोलीले विहान ४ बजे गस्ती गर्दै जाने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ मा बीआर ०१ बीएफ ५५८१ नम्बरको भारतीय कार चालक अन्सारीलाई सुरक्षाजाँच गर्दा कारमा लुकाइछिपाई ल्याएको अवस्थामा गाँजा फेला परेको हो । उक्त गाँजासहित अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुर प्रहरीले लागूऔषध चरेसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ का ३१ वर्षीय प्रशान्त तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ स्थित भैंसे चेकपोष्टमा सडकमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्दा १५ किलो १ सय २० ग्राम चरेस बरामद गरेको हो ।

पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ८८३३ नम्बरको मोटरसाइकल चालक तामाङलाई शंका लागेर सुरक्षाजाँच गर्दा उनले बोकेको झोलामा लागूऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । तामाङलाई लागूऔषधसहित पक्राउ गरेर जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।