हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौँडा–४ स्थित हुप्रचौरमा भएको समूहचरणको खेलमा हेटौँडा–१० स्थित नारायणी कलेजलाई १५ रनले पराजित गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्ट फाइनल प्र्रवेश गरेको हो ।
टस हारेर पहिलो व्याटिङ गर्ने निम्तो पाएको म्यानेजमेन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । म्यानेजमेन्टबाट युविन बुढाथोकीले ३९ रन बनाउन सफल भएका थिए । विशेष विक्रम थापाले ३६ र विशाल फुँयालले १९ रन बनाएका थिए । बलिङतर्फ नारायणी कलेजबाट अस्मित मण्डलले सर्वाधिक ४ विकेट लिएका थिए । एमडी आलम र अन्मोल सिंह पासवानले समान १–१ विकेट लिए ।
म्यानेजमेन्टले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको नारायणी कलेजले निर्धारित २० ओभरमो ५ विकेट गुमाएर १ सय ४ रन मात्र जोड्न सफल भयो । नारायणी कलेजबाट मिथिलेश कुमार गुप्ताले ५८ रन जोडे पनि टिमलाई हारबाट बचाउन सकेनन् । उत्सव श्रेष्ठले १४ रन, सन्देश पोखरेलले १३ रन र इमरान अकमलले ९ रन जोडे । बलिङतर्फ म्यानेजमेन्टका गौरव श्रेष्ठ र कृष्ण यादवले समान २–२ विकेट लिएका थिए ।
जेसीआई हेटौँडाले आयोेजना गरेको प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।