गुगल तस्विर ।

हेटौँडाः चितवन र धादिङ जिल्लामा एकै दिन ३ जना मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार चितवनको न्यू दीप होटल एण्ड लजमा शुक्रबार राती ८ बजेको समयमा एक पुरुष मृत फेला परेका हुन् । मृत फेला पर्नेमा चितवन जिल्लाको माडी नगरपालिका–८, अयोग्यपुरी बस्ने ५५ वर्षीय लोक बहादुर राना मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

मगर होटलको कोठा नम्बर ५ मा बसेकोमा बिहान खाना समेत खान नआएपछि झ्यालबाट हेर्दा मृत अवस्थामा फेला परेका हुन् । मुचुल्का पश्चात थप अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ । चितवन जिल्लाकै रत्ननगर नगरपालिका–४, देवौलीमा २५ वर्षीय अनिल बिक वेहोस अवस्थामा लडिरहेको थाहा पाई निजको भिनाजु जीवन सुनारले उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगेकोमा राती साढे ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । विकले अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

यस्तै धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–७, अँधेरीखोलामा मानिस मृत अवस्थामा फेला परेका छन् । स्थानीय अम्मर बरुवालको घरमा २० दिन अगाडिदेखि बस्दै आएको साविक कास्की जिल्लाको सल्यान गाविस–१ का २९ वर्षीय सोम पौडेल मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक अभय लामाको कमाण्डमा मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेसी तर्फ लागिएको छ ।