मुख्यमन्त्रीको कार्यालय ।

हेटौंडाः संघीय सरकारमा सहभागी गठबन्धन फेरबदल हुँदा बागमती प्रदेशमा तरंग उत्पन्न भएको छ । सोमबार नेपाली कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनाउनुभएकाले प्रदेशमा तरंग उत्पन्न भएको हो ।

केन्द्रमा सत्ता गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि सत्ता समीकरणको चर्चा हुन थालेको छ । बागमतीमा हाल माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरिरहनभएको छ । केन्द्रको गठबन्धनअनुसार बागमती प्रदेशमा नयाँ गठबन्धनलाई सरकार गठनका लागि सहज नहुने देखिएको छ । ११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । केन्द्रमा गठबन्धन गरेका एमाले र माओवादी केन्द्रको यस प्रदेशमा ४८ जना प्रदेशसभा सदस्य छन्, जसले सरकार निर्माण गर्न आवश्यक बहुमत पुग्दैन । यस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न कांग्रेसलाई १९, एमालेलाई २९, माओवादी केन्द्रलाई ३५ र राप्रपालाई ४३ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने हुन्छ ।

बागमती प्रदेशमा केन्द्रको वर्तमान गठबन्धनले तरंग नै सिर्जना गरेको छ । केन्द्रमा कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै बागमतीमा पनि समीकरणले चर्चा पाएको हो । केन्द्रको वर्तमान गठबन्धनले बागमती प्रदेशमा महुमत नभएपछि प्रदेशको मन्त्रिमण्डल अथावत नै रहेको छ । वर्तमान गठबन्धनलाई राप्रपाले साथ दिएमा मात्र बागमतीमा सरकार बन्नेछ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म अब सत्ताको खेलमा नलाग्ने भन्दै अझै कुनै निर्णय गरेको छैन । जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरता दिन अहिलेको गठबन्धनलाई निरन्तरता दिनेसहितका तीन वटा विकल्प छन् । कांग्रेसलाई हटाएर एमाले र राप्रपासहितको सरकार बनाउने वा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिने भन्ने रहेको छ । यता कांग्रेस, राप्रपा र एकीकृत समाजवादी मिल्दा बागमती प्रदेशमा केन्द्रको सत्ता समीकरणभन्दा फरक समीकरण बन्ने सम्भावना पनि रहेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना प्रदेशसभा सदस्य गरी ५६ जना प्रदेशसभा सदस्य जुट्नेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले केन्द्रीय समीकरणअनुसार सरकार फेरबदलबारे तत्काल यसै भन्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । केन्द्रीय निर्णय प्राप्त नभएकाले अहिले नै केही भन्न नसकिने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरणको निर्णय र निर्देशन प्राप्त भएपछि सरकारको विषयमा ठोस निर्णय हुने जानकारी गराउनुभयो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सत्ता समीकरणका विषयमा अहिले नै ठोस निष्कर्ष दिन उचित नभएको बताउनुभयो । राजनीतिमा सम्भावना र विकल्प धेरै रहेकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । यस्तै, एकीकृत समाजवादी भने केन्द्रीय समीकरणअनुसार प्रदेश सरकारको समीकरण निर्माण गर्नुपर्ने पक्षमा छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेश सरकार परिवर्तनको सम्भावना प्रबल रहेको बताउनुभयो । केन्द्रकै समीकरणअनुसार प्रदेश सरकार बनाउने सम्भावना रहे पनि संख्यात्मक विषय निर्णायक हुने उहाँको भनाइ छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकार परिवर्तनमा आफूहरूलाई खासै चासो नरहेको बताउँदै विगतमा हतारमा निर्णय गर्दा २ महिनामै सरकार ढलेको बताउँदै उहाँले केन्द्रको सरकार परिवर्तन र प्रदेशको समीकरणका विषयमा आफूहरूले कुनै योजना नबनाएको जानकारी दिनुभयो ।