तस्बिरः गुगल ।

हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा आइतबारबाट सुरु भएको चौथो संस्करणको जितपुर–सिमरा हरपुर च्याम्पियनसिप टि–२० क्रिकेटमा मकवानपुर पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा मकवानपुर कलैया क्रिकेट क्लबसँग पराजित भएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले २० ओभरमा १० विकेट गुमाएर एक सय १६ रन मात्रै बनाउन सफल भयो । मकवानपुरका ओपनर गौरव खड्काले ४८ रनको योगदान गरे पनि अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मकवानपुरका शुभ कंशाकार र असीम श्रेष्ठ शून्यमै आउट हुँदा सूवर्ण भट्टले १४ र राम नरेश गिरीले १३ रन जोड्ने बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । मकवानपुरलाई सस्तैमा समेट्ने क्रममा कलैयाका शंकर पौडेलले ४ विकेट लिए भने भुलवान सहनीले २ विकेट लिए ।

एक सय १७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले १८ ओभर २ बलमा जित हासिल ग¥यो । कलैयाका लागि ओपनर साहिल पटेलले ५४ रनको योगदान गर्दा निरज यादव र तीर्थराज दासले २० रनको योगदान गरे । मकवानपुरले अब समूह चरणको दोस्रो खेल आज सोमबार युथ क्रिकेट क्लबसँग खेल्नेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह विजेता र उपविजेता सेमीफाइनल प्रवेश गर्नेछ ।