हेटौंडाः ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हेटौंडामा रचना वाचन कार्यक्रम भएको छ । आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा रचना वाचन तथा मासिक भेटघाट कार्यक्रम भएको हो ।
कार्यक्रममा कलापुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्ष तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नारी शीर्षकमा स्वस्तिका दहाल र प्रवीना प्रयासीले मुक्तक वाचन गर्नुभएको छ । साहित्यकारहरु विष्णुप्रसाद गौतम, सानु खनाल, निरा शर्मा, श्यामप्रसाद श्रेष्ठले रचना वाचन गर्नुभएको थियो ।
यसैगरी, सम्झना अधिकारी, संप्रस पौडेल, अनु रोक्का, राजकुमार लामिछाने, सविता तिमल्सिना, एलिजा पुडासैनी, मुना अर्याल, तुल्सी घिमिरेलगायतले पनि रचना वाचन गर्नुभएको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेश निखिलले रचना वाचन गर्नेहरुको समीक्षात्मक टिपप्णी गर्नुभएको थियो । कवितामा भाषिक सुन्दरता हुनुपर्ने संयोजक निखिलले बताउनुभयो । कविताको माध्यमले मानिसहरुलाई चकित बनाउन सक्नुपर्ने उहाँको भनाइ छ ।
आँचल साहित्य कलापुञ्जकी अध्यक्ष सापकोटाले नारी दिवसको सन्दर्भमा फरक ढंगबाट कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यसअघि संस्थाले विद्यालयस्तरमा विभिन्न प्रकारका प्रतियोगात्मक कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो ।