फाइल तस्वीर ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको शिविरबाट पहिचान भएका मोतिविन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको छ । शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३३ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको हो ।

क्लबको आयोजनामा भएको तीन दिने शिविरबाट पहिचान भएकामध्ये शनिबार ३१ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । रोटरी क्लब अफ हेटौंडाले विभिन्न स्थानमा आँखा शिविर आयोजना गरेको थियो । पहिचान भएकामध्ये हिजो शुक्रबार १ सय २४ जनाको शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासनिक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार अस्पतालमा मकवानपुर जिल्लाको बाघमारा र हेटौंडा उपमहानगरपालिका–३ को बसामाडीमा पहिचान भएका मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । शुक्रबार चितवन जिल्लाको खैरहनी, सर्लाही जिल्ला र हेटौंडा–१६ मा भएको शिविरबाट पहिचान भएका बिरामीको शल्यक्रिया गरिएको थियो ।

निःशुल्क शिविर कार्यक्रमको पहिलो दिन सर्लाही जिल्लामा निःशुल्क आँखा शिविर हुँदा ९९ जनामा मोतिविन्दु पहिचान भएको थियो । दोस्रो दिन चितवन जिल्लाको खैरहनी र हेटौंडा–१६ मा निःशुल्क शिविर हुँदा ७३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको थियो । यस्तै, तेस्रो दिन बाघमारा र हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा निःशुल्क शिविर हुँदा ३३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको थियो ।