हेटौँडाः हेटौँडामा आगामी चैत ९ गतेदेखि दोस्रो संस्करणको अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । २८६० औं डुक ल्हो सोनाम ल्होछार (नयाँ वर्ष)को अवसरमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा हुनेछ । प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशामा हुने बताइएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले यो वर्ष हेटौँडा उपमहानगरपालिकाभित्रका १९ वटै वडाले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।
पहिलो संस्करणको प्रतियोगिता वडास्तरीय आयोजना गरिएको थियो । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा उपमहानगरपालिकाका वडाहरुमात्र सहभागी हुने पाउने अध्यक्ष नेगीले बताउनुभयो । फुटबल खेलको विकास गर्न, नयाँ खेलाडी उत्पादन गर्न, एक–अर्काबीच भातृत्व कायम गर्न प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द म्याच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वोकृष्ट खेलाडीले नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।