हेटौंडाः मौसम परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या देखिएको छ । जाडो कम भएर गर्मी बढ्दै जाँदा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिएको हो ।

हेटौंडा अस्पतालको नाक, कान, घाँटीरोग विभागमा स्वास्थ्य जाँच गराउन आउने बिरामीहरुमा घाँटी दुख्ने, नाकबाट रगत आउने, नाकमा एलर्जीलगायत समस्या देखिने गरेको छ । हेटौंडा अस्पतालको नाक, कान, घाँटीरोग विभागमा दैनिक सयभन्दा बढि बिरामी आउने गरेको विभागका विशेषज्ञ डाक्टर सुमन बर्तौलाले जानकारी दिनुभयो । विभागमा पहिला बिरामीहरु स्वास्थ्यमा धेरै समस्या भएपछि आउने गरेका थिए भने अहिले रुघा लागेको एक दिनमै बिरामीहरु जाँच गर्न आउने गरेका हुन् ।

बिरामीहरु यसरी आउदा समस्या भइरहेको डा. बर्तौैलाले बताउनुभयो । नेपाल स्वास्थ्य बिमा बोर्डले बिमामा १० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेपछि र ३ महिनालाई पुग्ने औषधी वितरण गर्न थालेपछि बिरामीहरु १० प्रतिशत कम भएका उहाँको भनाइ छ ।

अस्पतालमा घाँटीको समस्या भएका बिरामीमा धेरैजसो थाइरोइड, गाँठो गिर्खा र नाकमा एलर्जीजस्ता समस्या लिएर आउने गरेका छन् । डा. बर्तौलाका अनुसार अहिलेको समयमा बालबालिकाहरु कानमा फोहोर लिएर आउने गरेका छन् । यस्तै, मध्यम उमेर समूहका कान दुःखेर, पाकेर आउने गरेका छन् भने बुढ्यौलीहरु कान नसुुन्ने समस्या लिएर आउने गरेका छन् ।

मौसमी रुघाबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, वातावरण स्वच्छता र जनचेतनासमेत जगाउन अति आवश्यक रहेको उहाँको भनाइ छ । हेटौंडा अस्पतालमा डा. श्लेष्मा रिजाल, डा. सुमन बर्तौला, डा. अनुप सञ्जेल र डा. इन्कलाव ढुङ्गानाले नाक, कान, घाँटी विभागबाट सेवा प्रदान गरिरहनुभएको छ । अस्पतालमा आइतबार र बुधबार नाक, कान, घाँटीको शल्यक्रिया हुने गरेको छ ।