हेटौंडाः नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैतमा हुने २५ औँ साधारणसभाको बारेमा निर्माण व्यवसायी संघ मकवानपुरले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटघाट तथा छलफल गरेको छ । साधारणसभाको तयारीका बारेमा बिहीबार मुख्यमन्त्री जम्कट्टेलसँग छलफल गर्दै साधारणसभाको सफलताका लागि संघले सहयोगको अपिल गरेको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजकत्वमा आगामी चैत १६ र १७ गते हुने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छलफलमा जानकारी गराइएको थियो । छलफलमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, पूर्वअध्यक्ष आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
निर्माण व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरुका प्रतिनिधिहरुसँग साधारणसभाको बारे छलफल गरी सहयोगका लागि आग्रह गरेको छ । साधारणसभामा प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुई हजार जनाको सहभागिता रहने जनाइएको छ ।
साधारणसभामा प्रत्येक प्रदेश महासंघहरुबाट अध्यक्षसहित १५ जना, ५० सम्म सदस्य भएको जिल्ला संघले तीन जना र सोभन्दा माथि हरेक ५० सदस्य बराबर थप एक जना साधारणसभा प्रतिनिधि तोकी एक जनालाई अनिवार्य मुख्य प्रतिनिधि हुने गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी पाँच वा सोभन्दा बढी साधारणसभा प्रतिनिधि पठाउने जिल्ला संघले प्रतिनिधि हुन योग्यता पुगेका महिलाहरुमध्ये कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्यरूपमा पठाउनुपर्नेछ । एसोसिएट सदस्यहरूबाट एसोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ र प्रत्येक वस्तुगत संघबाट एक जना साधारणसभा प्रतिनिधि पठाउनुपर्ने जनाइएको छ ।