हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ मा नवनिर्मित लिफ्ट सिंचाईको उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सर्केश घलानले लीलावन लिफ्ट सिंचाईको उद्घाटन गर्नुभएको हो ।
सिंचाई सेवाको उद्घाटन गर्नुहुँदै अध्यक्ष घलानले उपभोग्य जग्गाहरु खाली नराखी सबै जग्गामा उत्पादन हुने अन्नबाली, फलफूल र तरकारीहरु लगाउन सुझाव दिनुभएको छ । उहाँले उत्पादित अन्नबाली, फलफूल र तरकारीहरु बिक्रीका लागि समस्या भएमा बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
बागमती–५ का वडाध्यक्ष विजयी भोलनका अनुसार वडाको ५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको १० लाख रुपैयाँमा निर्मित सिंचाईको उद्घाटन भएको हो । बागमती नदीको पानी करिब ८० मिटरभन्दामाथि उचाइमा लिफ्टमार्फत् तानेर सिंचाई गरिने उहाँले बताउनुभयो । हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिंचाई सुविधा भएपछि कृषि उत्पादन बढ्ने उहाँको भनाइ छ ।
सिंचाईले १ सय घरधुरीका किसानहरु लाभान्वित हुने वडाध्यक्ष भोलनले बताउनुभयो । सिंचाई आयोजना निर्माणका लागि योगेश थोकरको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना र वडा नम्बर ४ का वडा अध्यक्ष दन्तलाल माझीसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।