हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले ६६ करोड रुपैयाँ खर्च गरेर व्यापारिक भवन बनाउने निर्णयप्रति व्यवसायीले आपत्ति जनाएका छन् । उपमहानगरपालिकाले हेटौंडा–१० मा व्यापारिक भवन हेटौंडा कप्लेक्स बनाउने निर्णयप्रति व्यवसायीले आपत्ती जनाएका हुन् ।
बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघ हेटौंडा उपमहानगर कमिटीको आकस्मिक बैठक बसेर उपमहानगरको उक्त निर्णयप्रति आपत्ति जनाइएको हो । हेटौंडा उपमहानगरपालिकाको बुधबारको बैठकले हेटौंडा–१० स्थित हङकङ बजार क्षेत्रमा रहेका सबै संरचना हटाएर ६६ करोड रुपैयाँ खर्च गरेर व्यापारिक भवन बनाउने निर्णय गरेको थियो ।
बैठकको निर्णय सुनाउनुहुँदै संघका अध्यक्ष शैलेन्द्र देवकोटाले उपमहानगरपालिकाले यस क्षेत्रमा भवन बनाउने कुराको योजना तर्जुमा गर्दा व्यवसायीहरुसँग छलफल नगरी र राय सुझाव नलिइकन यस्तो निर्णय गरेको बताउनुभयो । मकवानपुरको अवस्थामा अहिले यो किसिमको व्यापारिक भवनको आवश्यकता नरहेको उहाँले बताउनुभयो । अहिले हेटौंडाभित्र सञ्चालनमा रहेको ठूला व्यापारिक कम्प्लेक्सहरु नचलिरहेको अवस्थामा रहेको बताउनुहुँदै उहाँले अहिले यस्तो खालको कम्प्लेक्स आवश्यकता नरहेको बताउनुभयो ।
उपमहानगरपालिकाको नियमित आम्दानीको स्रोतको रुपमा रहेको यस क्षेत्रमा उक्त कम्प्लेक्स बनाउँदा ३ सयभन्दा बढी व्यवसायीहरु प्रभावित हुने उहाँले बताउनुभयो । उपमहानगरपालिकाले अहिले व्यवसायीहरुलाई कुनै दिगो आधार नै तयार नगरी आतंकित बनाएको पनि आरोप लगाउनुभयो ।
संघका उपाध्यक्ष मेघनाथ चौलागाईले जिल्लाकै पुरानो र व्यवस्थित खुला बजारलाई हटाई करोडौं खर्च गरेर कम्प्लेक्स निर्माण गर्न अहिले आवश्यक नरहेको बताउनुभयो । उहाँले कोभिडदेखि थला परेको व्यवसायीहरुको बैंकिङ कारोबार र आर्थिक मन्दीको मारलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उपमहानगरपालिकाले करोडौं खर्चेर कम्प्लेक्स बनाउने निर्णय फिर्ता नलिए आफूहरुले कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।
यस्तै, समितिका सदस्य सुवोध ढकालले उपमहानगरपालिकाले अनावश्यक कार्यमा करोडौं खर्च गर्न लागेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र अन्य महत्वपूर्ण क्षेत्रमा प्राथमिकता दिएर काम नगरी करोडौं रकममा अनावश्यक भवन बनाउन लागेको उहाँले बताउनुभयो ।