हेटौंडाः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको भन्दै मंगलबार फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले ध्यानाकर्षणपत्र जारी गर्नुहुँदै पत्रकार महासंघलाई अल्टिमेटम दिनुभएको हो ।
२०७९ सालमा श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको थियो । तर, अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएको भन्दै गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध निर्णायक आन्दोलनमा उत्रिएको बताइएको छ । अध्यक्ष श्रेष्ठले ७ दिनभित्र सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्नुभएको छ ।
माग पूरा नभए महासंघ कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनीसमेत दिइएको छ । अल्टिमेटम पत्र बुझ्नुहुँदै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले उक्त पत्रलाई केन्द्रमा पठाउने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै, फोनिज बागमती प्रदेश समितिले पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरलाई पनि पत्र बुझाएको छ ।