हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैैठक बुधबार बिहान बसेको छ । यसअघिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको उपमहानगरले यस पटक भने प्रत्यक्ष प्रसारण गरेन । बैठकका निर्णय दिउँसोसम्ममा प्रेस नोेटको रुपमा सार्वजनिक गरिने प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रत्यक्ष प्रसारण किन नगरिएको भन्ने प्रश्नमा प्रवक्ता न्यौपानेले भन्नुभयो, “प्रत्यक्ष प्रसारण किन गरिएन भन्ने विषयमा पनि प्रेस नोटमा आउँछ । दिउँसोसम्ममा बैठकका निर्णयको प्रेस नोट आउँछ ।” प्रत्यक्ष प्रसारण हुने बैठकमा आफ्ना कुरा राख्न असहज भएको भन्दै कार्यपालिका सदस्यले प्रत्यक्ष प्रसारण रोक्न दबाव दिएको बुझिएको छ ।

बुधबार बिहानको बैठकका लागि ६ वटा बुँदामा कार्यसूचि कार्यपालिका सदस्यहरुलाई पठाइएको थियो । बैठक कार्यसूचिको पहिलो नम्बरमा अघिल्लो बैठकको कार्यान्वयनको समीक्षा गर्ने उल्लेख गरिएको छ भने दोस्रो नम्बरमा हेटौँडा कम्प्लेक्स, रजत जयन्ती सडक र कर्णावती सडकलगायतका योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुतीकरण गर्ने रहेको छ ।

कार्यसूचिको तेस्रो नम्बरमा टिसिएसन रोड निर्माणको भेरिएसन आदेश स्वीकृत गर्ने, चौथो नम्बरमा अनुदान सञ्चालन कार्यविधि र सेव प्रवाहसम्बन्धी कार्यविधिसम्बन्धी कानुन तर्जुमाको सैद्धान्तिक सहमतिको विषय रहेको छ । पाँचौं नम्बरमा राजिनामा स्वीकृति र छैठौं नम्बरमा विविध शीर्षकमा कार्यसूचि समावेश गरिएको छ । बैठकको कार्यसूचि अघिल्लो दिन मंगलबार मात्रै कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराइएको थियो ।