हेटौँडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको ५४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखाको आतिथ्यमा भएको साधारणसभामा विभिन्न व्यक्ति, संघ, संस्था सम्मानित भएको छ ।
रेडक्रस सोसाइटीले हेटौँडा–४ का गौतम मानन्धरलाई सम्मान गरेको छ । ६८ पटक रक्तदान गर्नुभएका मानन्धरलाई सम्मान गरिएको हो । २८ पटक रक्तदान गर्ने मकवानपुरगढी गाउँपालिकाकी कल्पना श्रेष्ठ र २१ पटक रक्तदान गर्ने हेटौँडा–११ का दुर्लभ रक्तदाता विजय पराजुलीलाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्लाको उत्कृष्ट उपशाखाको रुपमा फापरबारी उपशाखालाई सम्मान गरिएको छ । कार्यक्रममा हेटौँडाको बालजागृति इंग्लिस सेकेण्डरी स्कूल उत्कृष्ट युवा सर्कलमा सम्मानित भएको छ । यस्तै, उत्कृष्ट शिक्षक नायकमा रुपचन्द्र गोपाली, उत्कृष्ट कर्मचारीमा रेड्क्रस सोसाइटी मकवानपुरका लेखा प्रमुख रामजीप्रसाद खतिवडा, उत्कृष्ट स्वयंसेवकमा हिक्मत श्रेष्ठ र उत्कृष्ट संरक्षकमा वंशगोपालका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई सम्मान गरिएको छ । यस्तै गत वर्ष सबैभन्दा बढी रगत संकलन गर्ने गरी रक्तदान कार्यक्रमको आयोजना गर्ने हेटौँडा–९ को विश्व सु–समचार समाज परमेश्वरको मण्डली, (१५८ युनिट), लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ (५७ युनिट) र बस्तीपुर जेसिज हाँडीखोला (५५ युनिट) लाई पनि सम्मान गरिएको छ ।
साधारण सभाको अवसरमा एक करोड अक्षयकोष अभियानको स्थापना गरेको छ । मकवानपुर जिल्ला शाखाले मकवानपुरका बासिन्दाका लागि निःशुल्क रगत वितरण गर्नका लागि ५१ हजार एक सय ११ रुपैयाँ अक्षयकोष हस्तान्तरण गरेको छ । यस्तै कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ उपशाखाका सचिव हिक्मत श्रेष्ठले १५ हजारको चेक हस्तान्तरण गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको सभाध्यक्षता तथा केन्द्रिय अध्यक्ष डा. सुदर्शन प्रसाद नेपालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष बीरबहादुर बस्नेत र जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको विशिष्ट आतिथ्य रहेको थियो ।