हेटौंडाः नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ हेटौंडा उपहानगर कमिटीको अध्यक्षमा संग्राम बल चयन हुनुभएको छ । शनिबार भएको दोस्रो अधिवेशनबाट बल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
बलको अध्यक्षतामा १९ सदस्यीय नगर समिति घोषणा भएको छ । समितिको उपाध्यक्षहरुमा शंकरगोपाल खड्की र प्रेमनाथ महतो चयन हुनुभएको छ । यस्तै, सचिवमा विवेकानन्द न्यौपाने, उपसचिवमा सुजिता थापा र सुदर्शन खतिवडा तथा कोषाध्यक्षमा सुरेन्द्र ढकाल चयन हुनुभएको छ । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल डेढ वर्षको हुनेछ ।
अधिवेशनको अवसरमा महासंघले तीन जना खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रिजन ढकाल, १९ वर्षमुनीको महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल सजिना स्याङ्तान र उदयमान खेलाडीको रुपमा अनिष महर्जनलाई सम्मान गरिएको हो । ढकाल र स्याङ्तानलाई ८–८ रुपैयाँ र महर्जनलाई नगद ४ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
नेपाल खेलकुद महासंघका केन्द्रीय महासचिव धरम लामाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सल्लाहकार विभागका सदस्य डोरमणि पौडेल र जिल्ला अध्यक्ष सविन मोक्तानलगायतको आतिथ्य रहेको थियो ।