हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले सबै शिक्षकहरुले आफ्नो मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको २२ औँ प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री पाण्डेले सबै शिक्षकहरुले आफ्नो मन, वचन र कर्मले कर्तव्यपालना गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले विद्यालयका शिक्षकहरुले विद्यालयलाई दिनुपर्ने योगदान दिएको छ कि छैन ? भन्ने कुराको ख्याल गर्नुपर्ने बताउनुभएको छ । शिक्षा क्षेत्रमा १७ प्रतिशत बजेट लगानी भए तापनि बजेटको दर घट्दै गएको बताउनुभयो । कतिपय विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई कक्षा चढाउन सके पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको उहाँको भनाइ छ ।
राज्यले सबै शिक्षकहरुलाई दिनुपर्ने सुविधाबाट पछि हट्न नहुने उहाँले बताउनुभयो । नेपालका शिक्षकहरुले दिएको योगदानको तुलना गर्न नसकिने उहाँको भनाइ छ । माओवादीले चलाएको हिंसात्मक द्वन्द्वका कारण ४३ जना शिक्षकहरुले ज्यान गुमाउनुपरेको बताउनुहुँदै त्यो कुराको स्मरण गरेर शिक्षकले आलोचनात्मकरुपले आफूलाई चिन्नुपर्ने उहाँले बताउनुभयो । आलोचना र शुद्धिकरणको माध्यमले मानिस शिखर चढ्नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
बालबालिकालाई पढाउने शिक्षकको तलब एकदमै न्यूनतम हुने, बाल शिक्षकलाई प्राथमिकतामा नराखेर स्वयम्सेवकको रुपमा तुलना गर्ने गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । नयाँ शिक्षा ऐन निर्माण नभएका कारण ८ देखि १० औँ संशोधनमा भार बन्दै गएको उहाँले बताउनुभयो । विभिन्न समाजवादी देशहरुमा निःशुल्क शिक्षा दिएको भन्दै फरक तरिकाबाट पैसा असुल्ने गरेको बताउनुभयो । अर्थतन्त्रलाई अरु क्षेत्रमा विभाजन गरेजस्तै निजी विद्यालयलाई पनि त्यही ढंगबाट विभाजन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसको योगदानबाट देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ ।
सांसदले संसदीय काम नगरेमा देश गुणस्तर हुन नसक्ने पाण्डेले बताउनुभयो । संघीयतामा गएपछि निजामती ऐन बन्न नसकेको भन्दै उहाँले ३ तहको अधिकारलाई कसरी परिभाषित गर्न सकिन्छ भन्ने कुरामा सबै लाग्नुपर्ने बताउनुभयो । ३ तहको अधिकारलाई प्रभावकारी कार्यान्वयनको उपाय निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईको सभाध्यक्ष तथा सहमहामन्त्री पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले शिक्षकहरुको सन्दर्भमा धेरै कुराहरु आएको बताउनुभयो । शिक्षकहरुका कारण मानिसहरुले प्रगतिको शिखरमा पुग्ने गरेको बताउनुहुँदै शिक्षक नभएको भए समाजको अवस्था कस्तो हुन्थ्यो भन्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकलाई कसरी सम्बोधन गर्ने ? कसरी मर्यादित बनाउनुपर्ने भन्ने कुरा व्यापक रुपमा चलिरहेको लामाले बताउनुभयो । शिक्षा क्षेत्रमा कसरी भातृत्व कायम गर्न सकिन्छ भन्ने कुरामा सबै शिक्षकहरु लाग्नुपर्ने उहाँले बताउनुभयो ।
समुदायमा भएको विद्यालयलाई कसरी व्यवस्थित गर्ने र निजी क्षेत्रमा कसरी लग्ने भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । कति मानिसहरु राजनैतिक दलमा लागेर आफ्नो पेसा व्यवसायलाई पनि प्राथमिकता नदिने गरेको उहाँले बताउनुभयो । नेपाल शिक्षक संघ मकवानपुरका पूर्वअध्यक्ष अर्जुन चौलागाईंले कक्षाकोठाको गतिविधिमा सुधार ल्याउन सबै शिक्षकले विद्यार्थीहरुसँग नम्र व्यवहार गर्नुपर्ने बताउनुभयो । राज्यले शिक्षकको उच्च मूल्यांकन गर्नुपर्ने चौलागाईंले जोड दिनुभयो । राज्यले तहगतरुपमा शिक्षक दरबन्दीको व्यवस्था गर्न नसकेको बताउनुभयो । शिक्षकको दरबन्दीको विषयमा राज्य निराश भएको उहाँको भनाइ छ । शिक्षकको पेसालाई अरुसँग तुलना नगर्न उहाँले आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, नेपाल शिक्षक संघ मकवानपुरका सल्लाहकार दीपकलाल खतिवडा र शिक्षक संघ मकवानपुरका निवर्तमान अध्यक्ष रामकुमार अधिकारीलगायतको आतिथ्य थियो । शिक्षक संघका अर्थ–सचिव धनबहादुर लामाले गत आर्थिक वर्ष २०७९/८० को खर्च र आम्दानीको विवरण पेश गर्नुभएको छ । उहाँले गत आर्थिक वर्षमा ७ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी र २ लाख ८० हजार १ सय ९० रुपैयाँ खर्च भएको जानकारी दिँदै ४ लाख ३० हजार १ सय ७६ रुपैयाँ मौज्दात रहेको प्रतिवेदन पेश गर्नुभएको हो ।
कार्यक्रममा जाजरकोटको भूकम्पपीडितलाई सहयोग गर्ने र संस्थाको आर्थिक गतिविधिमा सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । शिक्षक संघका सचिव श्रीराम लुईंटेलले भावी योजनाबारे जानकारी दिनुभयो । उहाँले आगामी वर्षमा नवीकरण गरेर सांगठनिक क्रियाकलापको कार्यक्रममा सहभागी जुट्ने बताउनुभयो । सबै पालिकाहरुमा नेतृत्व विकास र गुणस्तर शिक्षासम्बन्धी गोष्ठी सञ्चालन गर्ने बताउनुभयो । स्थानीय कार्यलाई सवल बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उहाँको भनाइ छ । शैक्षिक अवलोकनजस्ता कार्यहरु सञ्चालनका निम्ती पहल गर्ने, अहिलेसम्म भएको गतिविधिहरुलाई समेटेर स्मारिका तयार पार्ने जनाइएको छ । नेपाल शिक्षक संघको भवन निर्माणका लागि पहल गर्ने उहाँको भनाइ छ ।