संप्रस पौडेल शिक्षक, जनप्रिय मावि

विद्यालय शिक्षाअन्तर्गत चालु शैक्षिक सत्रको अन्तिम चरणमा छौं । विद्यालय शिक्षाको वार्षिक परीक्षाको तयारी भइरहेको छ । आगामी शैक्षिकसत्र २०८१ का लागि पनि विद्यालयले तयारी गर्न सुरु गरेको छ । वार्षिक परीक्षा, विद्यार्थीको पठनपाठन र आगामी शैक्षिक सत्रको योजनाको सन्दर्भमा हेटौँडा–१६, हटियास्थित जनप्रिय माविका शिक्षक संप्रस पौडेलसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः विद्यालयमा एसईई परीक्षाका लागि विद्यार्थीहरु कस्तो तयारीमा रहेका छन् ?
पौडेलः
अहिले एसईई परीक्षाको तयारीका लागि भनी बिहान–बेलुका थप कक्षा सञ्चालन गरेका छौं । विद्यार्थीहरुले विद्यालय समयमा विषयगत अध्ययन गर्ने र थप कक्षामा सेट बुकहरुबाट अभ्यास गर्ने गरेका छन् । अतिरिक्त पुस्तकबाट र प्रश्नहरु जम्मा गरेर परीक्षा लिने र नतिजा विश्लेषण कार्य गरी तयारी चलिरहेको छ ।

समाजः एसईई परीक्षालाई विद्यार्थीहरुले पहिलाको जस्तो महत्व लिने गरेका छैनन् । जनप्रियका विद्यार्थीहरुले परीक्षालाई कत्तिको महत्व दिँदैछन् ?
पौडेलः
विद्यार्थीहरुले एसईई परीक्षालाई महत्वका साथ लिन जरुरी छ । अहिलेको समयमा उच्च शिक्षाका लागि विदेश जाने प्रचलन बढेको छ । त्यसका लागि पनि यो परीक्षाले ठूलो भूमिका खेल्छ । देशमै बसेर पनि केहि बन्न शिक्षाकै महत्व बढि छ । यसलाई विद्यार्थी, अभिभावक, शिक्षक सबैले महत्वको रुपमा लिन जरुरी छ । र, विद्यार्थीहरुले पनि मिहिनेत गरिरहेका छन् ।

समाजः यस वर्षको एसईई नतिजा कस्तो अपेक्षा गर्नुभएको छ ?
पौडेलः
सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सबैको एकै किसिमको तयारी पुगेको हुँदैन । यसको विविध कारणहरु छन् । कतिपय विद्यार्थीहरु आफ्नो पूर्ण तयारी नभई अपग्रेड भइरहेका हुन्छन् । हामीकहाँ अघिल्लो वर्षको नतिजाहरु हेर्ने हो भने त्यसलाई उछिन्ने नतिजा आउने अवस्था सम्भव छ ।

समाजः अब परीक्षा पनि नजिक छ, यो समयमा विद्यार्थीहरुले के गर्न जरुरी छ ?
पौडेलः
अब धेरै समय छैन । यो समयमा विद्यार्थीहरु र अभिभावक दुबैले ध्यान दिन जरुरी छ । समय व्यवस्थापन, खानपान र निद्राका कुरा छन् । उचित समयसम्म सुत्न पाएन भने पढाईमा निरन्तरता दिन सक्दैनन् । विद्यालयले गर्ने कुराहरु पनि छन् । पहिला सोधिएका प्रश्नहरुको अभ्यास र गाइडको पनि प्रयोग गरेर तयारी गर्न आवश्यक छ ।

समाजः नयाँ शैक्षिक सत्रको पनि सुरुवाती चरण छ । विद्यालयले यस वर्ष कस्तो तयारी गर्दैछ ?
पौडेलः
हामीले भर्ना अभियान सुरु गरिसकेका छौं । बाल कक्षामा साना–साना बालबालिकाहरुको भर्ना सुरु भइसकेको छ । विद्यालयमा मन्टेश्वरी कक्षाका तालिम लिनुभएका शिक्षकहरु संख्यात्मक हिसाबले हुनुहुन्छ । बालबालिकाहरुको लागि खेल्ने सामग्री र मैदानको पनि सुबिधा छ । र, नयाँ शैक्षिक सत्रमा अन्य कक्षाहरुका लागि पनि विभिन्न योजनाहरु बनाएका छौं । अघिल्लो वर्षमा भन्दा यसवर्ष धेरै सुधारहरु गर्नेछौं । पुस्तकालय व्यवस्थापन, साहित्य, खेलकुद र अतिरिक्त क्रियाकलापका क्षेत्रमा विशेष तयारी हुँदैछ । पुराना योजनाहरुलाई निरन्तरता दिने र थप सुधारको योजना लिएर भर्ना अभियान अघि बढ्दैछ । यस विद्यालयबाट उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिर जाँदा केहि न केहि सीप लिएर जानेछन् ।

समाजः विद्यालय प्राविधिक शिक्षालय पनि हो । प्राविधिकतर्फको विद्यार्थीहरुको पनि कस्तो अवस्था छ ?
पौडेलः
जनप्रियमा कक्षा ९ बाट प्राविधिक विषय पढाइ हुन्छ भने विभिन्न प्राविधिक विषयको कक्षाहरु सञ्चालन भइरहेको छ । ४० जनाको कोटा हुने हुँदा कक्षा ९ र १० का ४०/५० विद्यार्थीहरु छन् । विद्यार्थीहरुलाई अभ्यासका लागि हामीसँग प्रशस्त स्रोत साधन छ । कृषिका विद्यार्थीहरुलाई जग्गा छ । र, विद्यार्थीहरुलाई पढ्दै कमाउँदै भन्ने अभियानका साथ विद्यार्थी केन्द्रित योजनाहरु प्रभावकारी रहँदै आएको छ ।

समाजः विद्यालयमा अभिभावकहरुको सक्रियता कस्तो छ ? अभिभावकको भूमिका के हुन्छ ?
पौडेलः
हामीले समय–समयमा अभिभावकहरुसँग छलफल गर्ने गरेका छौं । खासगरी किशोरावस्थाका विद्यार्थीहरुलाई विशेष ध्यान दिन जरुरी हुन्छ । अभिभावकहरुले आफ्नो बाबुनानीहरुको संगत र व्यवहारमा ध्यान दिन के गर्ने भनी अभिभावकहरुलाई परामर्श र तालिमहरु पनि दिने गरेका छौं । अभिभावकहरु पनि सहकार्य गर्नुहुन्छ । शिक्षक, अभिभावक र विद्यार्थी सबैको सम्बन्ध राम्रो छ । हुन आवश्यक पनि छ ।