हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४४ औं वार्षिक उत्सवको अवसरमा भएको खेलकुद महोत्सव सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मकवानपुर क्याम्पसको आयोजनामा माघ १९ गते शुक्रबारदेखि सुरु भएको खेलकुद महोत्सव शनिबार सम्पन्न भएको हो ।
क्याम्पस सरसफाई तथा वृक्षरोपण गरेर महोत्सव सुरुवात गरिएको थियो । महोत्सवमा बास्केटबल, भलिबल, फुटबल, क्रिकेट, कबड्डी प्रतियोगिता भएका छन् । यस्तै, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस र दौड प्रतियोगिता आयोजना गरिएको थियो । कविता प्रतियोगिता, गजल प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरी खेलकुद महोत्सव सम्पन्न गरिएको हो ।
विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्देश्यले पढाइ सँगसँगै अतिरिक्त तथा खेलकुद कार्यक्रम आयोजना गरिएको स्ववियु मकवानपुर क्याम्पस अध्यक्ष छोइसाङ लामाले बताउनुभएको छ । मकवानपुर क्याम्पसका विद्यार्थीहरुलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराउन स्ववियुले विभिन्न कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । ‘अतिरिक्त क्रियाकलापका कारणले पढाइका साथै विद्यार्थीबीच असल सम्बन्ध विकास हुन्छ’, स्ववियु अध्यक्ष लामाले भन्नुभयो– ‘ विद्यार्थीमका विभिन्न सीप तथा ज्ञानको विकास हुने यस्ता कार्यक्रममा सबै लाग्नुपर्छ ।’
खेलकुद महोत्सवअन्तर्गत्का विभिन्न प्रतियोगिताका प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई क्याम्पसको प्राङ्गणमा एक कार्यक्रमबीच पुरस्कृत गरिने जनाइएको छ ।