हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको ३४ औँ वार्षिक उत्सवको अवसरमा भएको खेलकुद महोत्सव सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा बिहीबारबाट सुरु भएको खेलकुद महोत्सव शुक्रबार सम्पन्न भएको हो ।
महोत्वसको पहिलो दिन भएको चम्चा दौडतर्फ शान्तवीर घिसिङ प्रथम, लखन सी द्वितीय र कोपिला घलान तृतीय भएका छन् । महिला सटपुटतर्फ सविना दंगाल प्रथम, रुपा न्यौपाने द्वितीय र कविता यादव तृतीय भएकी छिन् । पुरुषतर्फको सटपुटमा आकाश श्रेष्ठ प्रथम, सुजन लामा द्वितीय र अमनराज फुयाल तृतीय भएका छन् ।
हाजिरीजवाफ प्रतियोगितामा कोपिला घलान, सुरज बोलखे र अशोक कुशवाहको समूह प्रथम भएको छ । वाणिज्य संकाय दोस्रो वर्षबाट अरुण कुशवाह, गणेश सुवेदी र सरिता तितुङको समूह दोस्रो भएको छ भने शिक्षाशास्त्र चौथो वर्षबाट गायत्री नेपाल, पूजा माझी र अस्मिता स्याङ्तानको समूह तृतीय भएको छ ।
पुरुषतर्फको सय मिटर दौड प्रतियोगितामा सुजन लामा प्रथम, अनिश तामाङ द्वितीय र सुजित माझी तृतीय भएका छन् । महिलातर्फ अश्मी पाण्डे प्रथम, अस्मिता घिसिङ द्वितीय र विश्व तृतीय भएकी छिन् । भलिबल प्रतियोगितामा बीबीएस प्रथम वर्षको टिम प्रथम र बीएड चौथो वर्षको टिम द्वितीय भएका छन् ।
विद्यार्थीहरुको रुचि, क्षमताको विकास गर्ने उद्देश्यले पढाइसँगसँगै यस्ता प्रकारको अतिरिक्त तथा खेलकुद कार्यक्रम आयोजनामा सबै शिक्षकहरु लाग्नुपर्ने स्ववियु हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीले बताउनुभएको छ । क्याम्पसका विद्यार्थीहरुलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराउने उद्देश्यले यस्ता खालको काममा सधैं लागिरहेको अध्यक्ष मैनालीको भनाइ छ । उहाँले भन्नुभयो– ‘अतिरिक्त क्रियाकलापका कारणले गर्दा क्याम्पसमा पढाइ नहुने होइन, यसको कारणले गर्दा विद्यार्थीहरुमा ज्ञानको थप विकास हुन्छ र विद्यार्थीहरु बाहिरी माहोलमा घुलमिल हुन पाउँछन् । त्यसैले यस्तो कार्यक्रममा सबै लाग्नुपर्छ ।’
आइतबार हुने समापन तथा खाना महोत्सवको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्याम्पसको प्राङ्गणमा एक कार्यक्रमबीच पुरस्कृत गरिने जनाइएको छ । शुक्रबारको अन्तिम प्रतियोगितामा क्याम्पस प्रमुख देवीराम लामा र सञ्चालक समितिका सृजना पोखरेलको पनि उपस्थिति रहेको थियो ।