हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह मनाएको छ । सप्ताहको अवसरमा विभिन्न ४ सय १२ कार्यक्रम गरी ६६ हजार ९ सय ७६ जना मानिस लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो ।
बुधबार ट्राफिक सप्ताहको अन्तिम दिन एक कार्यक्रमको आयोजना गर्दै आचार्यले एक हप्तामा भएका कार्यक्रमको बरेमा जानकारी दिनुभएको हो । कार्यक्रमको पहिलो दिन आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यमा समुद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा सर्वसाधारणलाई १३ पटक कक्षा सञ्चालन गरी ३ हजार १ सय ६० जना लाभान्वित भएको उहाँले बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय हेटौंडासँग समन्वय गरी १६ पटक भाडादर अनुगमनबाट १ हजार २ सय जना मानिस लाभान्वित भएका थिए । भाडा अनुगमन गर्दा १० जनाको बढि भाडा फिर्ता गराइएको उहाँले बताउनुभयो ।
ग्रामीण सडकलक्षित कार्यक्रमअन्तर्गत् १५ पटकमा ३ हजार १ सय जना मानिस लाभान्वित भएका छन् । यस्तै, १२२ पटक चालक/परिचालक प्रशिक्षणमा १२ हजार ८ सय जना लाभान्वित भएका छन् भने तिव्रगति नियन्त्रण र ओभरटेकसम्बन्धी १८ पटक कार्यक्रम सञ्चालन गरी २ हजार ३ सय जना मानिस लाभान्वित भएका छन् ।
यसैगरी ६ दिनमा चेतनामूलक माइकिङबाट ७ हजार ५ सय जना लाभान्वित भएका र ६५ पटकमा १३ हजार २ सय जनालाई पर्चा, पम्पलेट वितरण गरिएको छ । विभिन्न स्कूल तथा नेपाल स्काउटबाट स्वयम्सेवक परिचालन गरी विभिन्न स्थानमा ६ दिनसम्म ३ सय जनाले ट्राफिक भोलेन्टियर गरी ५ हजार जना लाभान्वित भएका छन् ।
बागमती प्रदेश प्रहरी अस्पताल रातोमाटे, स्वास्थ्य कार्यालय मकवानपुर, समुदायिक अस्पताल हेटौंडा र चालक सहचालकको स्वास्थ जाँचमा १९८ जना लाभान्वित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हटौंडा सवारी शाखा र अटोमोबाइल एसोसिएसन मकवानपुरको सयुक्त टोलीले १२७ सवारी साधनको यान्त्रिक परीक्षण चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न गतिविधि गर्दै आएको छ ।