हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा एकेडेमीले समूह चरणको ४ खेलमा ३ जित निकालेको हो । ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेर एकेडेमीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिहीबार भएको समूह चरणको दोस्रोे खेलमा हेटौंडा एकेडेमीले हेटौंडा–१० स्थित तुलसी मेहर बोर्डिङलाई १ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको एकेडेमीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । हेटौंडा एकेडेमीका चन्दन गिरीले २५ बलमा ३५ रन जोडेका छन् । एमडी अशानले १४ बलमा २१ रन, राजाबाबु पटेलले १३ बलमा १८ रन र क्रिस ठकुरीले १६ बलमा १२ रन जोडेका हुन् । तुलसी मेहरबाट निराजन यादवले २ विकेट लिएका छन् ।
जवाफी ब्याटिङ गरेको तुलसी मेहरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय १६ रनमात्र जोड्न सफल भएको हो । तुलसी मेहरका सुमित यादवले ४५ बलमा ५५ रन बनाउँदै अर्धशतक प्रहार गरेका छन् । विशाल शाहले १६ रन र राज राउतले ७ रन जोडेका हुन् । हेटौंडा एकेडेमीका आदित्य यादव, इशान्त भण्डारी र एमडी आशानले समान १–१ विकेट लिएका हुन् । खेलको म्यान अफ द म्याच तुलसी मेहरका अर्धशतक प्रहार गर्ने सुमित यादव घोषित भएका छन् ।
बिहीबार भएको समूह चरणको पहिलो खेलमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले कमाने एकेडेमीलाई पराजित गरेको छ । समूह चरणको ३ खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरिसकेको भूटनदेवीले कमाने एकेडेमीलाई ९० रनले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको भूटनदेवीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएकोे थियो । जवाफी ब्याटिङ गरेको कमाने एकेडेमीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ७३ रनमात्र बनाएको हो ।
भूटनदेवीका सजिद अली खानले ३६ रन जोडेका छन् । कृष्ण यादवले ३४ रन, नरेन्द्र अधिकारीले ३२ रन, अमित यादवले १३ रन र ऋतिक यादवले १२ रन जोडेका हुन् । कमाने एकेडेमीका सृजन थापाले ४ विकेट लिएका छन् । उत्सव सापकोटा र विप्सन चौलागाईंले १–१ विकेट लिएका हुन् । कमाने एकेडेमीका जोयल गुरुङले १५ रन र मनिल अधिकारीले १२ रन बनाएका छन् । भूटनदेवीका नरेन्द्र अधिकारीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच सहजिद अली भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । समूह चरणको अन्तिम खेलमा भोलि सेमिफाइनल प्रवेशका लागि सेलिड्यारिटी इन्टरनेशनल एकेडेमी र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । दुई समूहको विजयी टिमले फाइनल प्रवेशका लागि शनिबार हेटौंडा एकेडेमीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।