हेटौँडाः बसन्त पञ्चमी तथा ११ औं राष्ट्रिय पुस्तक दिवसको अवसरमा साहित्य संगम मकवानपुरले पठन संस्कृतिको विकासमा हाम्रो भूमिका विषयक बहसको आयोजना गरेको छ । बुधबार दिउँसो हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा आयोजित बहसमा मकवानपुर बहुमुखी क्याम्पसका पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक एवम् समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, हेटौँडा–६ स्थित बालजागृति युवा वर्ष माविका प्रधानाध्यापक सम्झना अधिकारी र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी शिवराज शाही वक्ताका रुपमा सहभागी हुनुहुन्थ्यो भने बहसलाई संप्रस पौडेलले सहजीकरण गर्नुभएको थियो ।
पठन संस्कृतिको विकासका लागि पुस्तकालय अभियानका अभियन्ता समेत रहनुभएका श्रेष्ठले पठन संस्कृतिको विकासका लागि परिवार र विद्यालयमा बालबालिकालाई उपयुक्त वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिकाले अभिभावकका क्रियाकलापमा सिक्ने भएकोले अभिभावकले पढ्ने अभ्यास गरे बालबालिका पनि पढ्न प्रेरित हुने उल्लेख गर्नुहुँदै बालबालिकालाई सानै उमेरदेखि पुस्तकसँग खेल्ने, सिक्ने वातावरण परिवार र विद्यालयमा हुनुपर्ने श्रेष्ठको भनाइ थियो । पछिल्लो समय पठन संस्कृतिप्रति सकारात्मक दृष्टिकोण विकास हुँदै गएको उल्लेख गर्नुहुँदै श्रेष्ठले भन्नुभयो, “अभिभावक, शिक्षकले पढेको देख्यो भने बालबालिका स्वतः पढ्न प्रेरित हुन्छन् । बालबालिकाले पढेन भन्नेमा अभिभावक र शिक्षकले चिन्ता व्यक्त गरे पनि बालबालिकाका लागि पढ्ने वातावरण बनाउनतर्फ भने अभिभावक र परिवारको ध्यान पुगेको छैन ।”
बालजागृति युवा वर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारीले विद्यार्थीलाई पढ्न प्रेरित गर्ने गरी पुस्तकालय तयार पारिएको बताउनुभयो । कक्षाकोठामा पनि बुक कर्नर बनाइएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक अधिकारीले भन्नुभयो, “५ कक्षाभन्दा माथिका विद्यार्थीलाई नियमित तालिकाअनुसार पुस्तकालय लैजाने गरेका छौं । पुस्तकालयमा पुगेर फरक फरक पुस्तक पढ्न पाउँदा विद्यार्थी खुसी भएका छन् ।” विद्यार्थीमा पठन संस्कृतिको विकासकै लागि निजी विद्यालयसँग सहकार्य गरेर पुस्तकालयको प्रयोगबारे शिक्षक, विद्यार्थीलाई अभिमुखीकरण समेत गरिएको उहाँले बताउनुभयो ।
पाठकको रुपमा बहसमा सहभागी मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी शिवराज शाहीले आफ्नो रुचिअनुसारको पुस्तक पढ्नुपर्ने सुझाव दिनुभयो । पठन संस्कृतिको विकास हुन नसकेको उल्लेख गर्नुहुँदै शाहीले घर छाडेर हिँडेपछि पढ्न प्रेरित भएको बताउनुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष एवम् सल्लाहकार आरसी रिजालको पनि आतिथ्य रहेको थियो ।