हेटौँडाः विभिन्न घटनामा २ जनाको मृत्यु भएको छ । धादिङ र रामेछाप जिल्लामा एकै दिन २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा टिपर आफै अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय गोविन्द श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार गौरीशंकर स्कुलस्थित ताल्ती मलेखु भित्री सडकखण्डमा ताल्तीबाट छापडाँडातर्फ जाँदै गरेको बा ४ ख ३५५९ नम्बरको खाली टिपर आफै अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा टिपरमा सवार ३ जना घाइते भएका थिए । दुर्घटनामा बेनिघाट रोराङ गाउँपालिका–२ का ३७ वर्षीय सिताराम पाठक, ३ वर्षीय किशोर उप्रेती र गोविन्द श्रेष्ठ घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ लगिएकोमा उपचारको क्रममा गोविन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–५, मैनाले जंगलमा रुखबाट लडेर एकना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया नरकुमारी सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार सुनुवा रंगलमा वुहारीसँग घाँस काट्न गएकोमा रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट लडी घाइते भएकी थिइन् । घाइते सुनुवारलाई उपचारका लागि मन्थलीस्थित सामुदायिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।