भनु माविका म्यान अफ द म्याच हुन सफल भएका खेलाडी प्रकाश लामालाई खाजाको कुपन हस्तान्तरण गर्नुहुँदै जिल्ला क्रिकेट सघका सदस्य तथा प्रतियोगिता संयोजक सन्जोक पोखरेल ।

हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत् आइतबारको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयले हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिका बोर्डिङलाई २७ रनले पराजित गर्दै विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भानु माध्यमिक विद्यालयले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ज्ञानोदय बालबाटिकालाई १ सय १८ रन बनाउने लक्ष्य दिएको थियो । भानु माविबाट प्रकाश लमाले सर्वाधिक ५२ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कमल पराजुलीले १२ रन जोडेका थिए । रोय चौधरी र विनम्र अधिकारीले समान ११–११ रन बनाएका हुन् । ज्ञानोदयबाट मिथिलेश गुप्ता र मनिष श्रेष्ठले समान २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको ज्ञानोदयले ११ ओभर ४ बलमा १० विकेटको क्षतिमा ९३ रनमात्र जोड्न सफल भएको छ । ज्ञानोदयका मिथिलेश गुप्ताले २८ रन जोड्न सफल भएका छन् । नासिर हुसेनले १९ रन र राज जैशवालले १५ रन जोडेका हुन् ।

भानु माविको तर्फबाट सुमन घिमिरे र विनम्र अधिकारीले समान २–२ विकेट लिएका हुन् । २ खेले खेलेको भानु माविले १ खेलमा जित निकाल्दै २ अंक जोडेको छ समान २ खेल खेलेकोे ज्ञानोदय २ वटै खेलमा हार व्यहोर्दै अंकविहीन रहेको छ । खेलको म्यान अफ द म्याच प्रकाश लामा भएका छन् ।

आइतबारको दोस्रो खेलमा हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदन १० विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हेटौंडा–५ स्थित जेनिथ इन्टरनेशनल बोर्डिङले १३ ओभरमा १० विकेटको क्षतिमा ३७ रन बनाएको थियो । जेनिथ बोर्डिङबाट विधान माझीले ७ रन जोडेका थिए ।

सिदार्थ शिशु सदनका कार्तिक गिरी र सुलभ झाले समान ३–३ विकेट लिएका हुन् । जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थले २ ओभर २ बलमा कुनैपनि विकेट नगुमाइकन जेनिथले दिएको लक्ष्यलाई भेट्टायो । यो जितसँगै सिद्धार्थले ४ अंक जोडेको छ भने जेिनथले २ खेलमध्ये १ जित निकाल्दै २ अंक जोडेको छ । खेलको म्यान अफ द म्याच रितिक गिरी भएका छन् ।

आइतबारै भएको अन्तिम खेलमा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीले कमाने एकेडेमीलाई ६२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको हेटौंडा एकेडेमीले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो । हेटौंडा एकेडेमीबाट सौरव चौधरीले सर्वाधिक ४९ रन बनाएका थिए । लालबाबु अलीले २९ रन बनाएका हुन् । क्रिस ठकुरीले २७ रन र आदित्य यादवले १० रन जोड्न सफल भएका हुन् । कमाने एकेडेमीबाट उत्सव सापकोट, सिजन थापा र जोशन मगरले समान १–१ विकेट लिएका हुन् ।

हेटौंडा एकेडेमीले दिएको १ सय ४० रनको लक्ष्य पच्छाएको कमाने एकेडेमीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ७८ रनमात्र जोड्न सफल भएको थियो । हेटौंडा एकेडेमीबाट एमडीले २ विकेट लिएको थियो । आदित्य यादव, इसान्तले समान १– १ विकेट मात्र लिएका हुन् । खेलको म्यान अफ द म्यान सौरव चौधरी घोषित भएका छन् ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक संजोक पोखरेलले जानकारी दिनुभएको । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्यान हुने खेलाडीहरुका लागि हेटौंडा–१० स्थित रोड हाउस रेष्टुरेन्ट र हेटौंडा–४ स्थित क्वीक २० होटेलले खाजाको प्रायोजन गरेको प्रतियोगिताका संयोजक पोखरेलले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भएको छ ।