हेटौँडाः बागमती प्रदेशको धादिङ, रसुवा र सिन्धुपाल्चोक जिल्लामा ३ जनाको मृत्यु भएको छ भने रामेछाप जिल्लामा एक किशोरीको कंकाल बरामद भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकै एकजना पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान १० बजेर ३० मिनेटको समयमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ५२ वर्षीय पुरुष व्यक्ति उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जानकारी दिएको छ । उपचारका लागि लगिएको पुरुषको शुक्रबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, माथिल्लोरुङ्गामा एकजना पुरुषको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका–१० घर भई हाल निर्माणाधिन सान्जेन खोला जलविद्युत आयोजनामा मजदुरी गर्ने २७ वर्षीय आयुष लामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ९ बजेर ४० मिनेटको समयमा लामा माथिल्लोरुङ्गामा मृत फेला परेका थिए ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५, चौतारामा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय अमीर बहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ बिहीबार बेलुका खाना खाएर सुतेकोमा शुक्रबार बिहान ८ बजेको समयमा सुतेकोमा कोठामा मृत फेला परेका थिए । श्रेष्ठ चौतारास्थित एक विद्यालयमा करारमा कार्यरत शिक्षक रहेको र स्थानीयको घरमा बस्दै आएका थिए ।

यस्तै, दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका–७, मार्बुमा एक किशोरीको कंकाल फेला परेको छ । बरामद भएको कंकाल १३ वर्षीया आयुषा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो १ बजेको समयमा श्रेष्ठको कंकाल घटेखोलामा फेला परेको थियो । सात महिना अगाडि वर्षाको समयदेखि श्रेष्ठ हराइरहेको श्रेष्ठका बुबा रामकृष्ण श्रेष्ठले बताएको प्रहरीले जानकारी दिएको छ । शव मुचुल्का पश्चात मृतकको बुबाले बुझी लगेको प्रहरीले जनाएको छ ।