२०३६ सालमा मकवानपुर क्याम्पसको स्थापना र प्रारम्भिक पढाई आधुनिक स्कुलमा भएको थियो । पञ्चायत शासनको उकुसमुकुसको बिद्रोह पनि हेटौँडामै भएको थियो । विद्यार्थीको जुलुसमा रामचन्द्र माइकललाई खुट्टामा गोली लागेको र ३ जना विद्यार्थी पञ्चायती शासकको गोली लागेर सहादत भएपछि निरंकुश पञ्चायतको विरोधमा आन्दोलनको शंखनाद हेटौँडाबाटै देशव्यापी भएपछि राजाले जनमतको घोषणा गरेका थिए ।

तात्कालिन समयमा मकवानपुर क्याम्पसमा प्रारम्भिक अवस्थादेखि अध्ययनरत दुई जना विद्यार्थीको बारे निकै प्रभावशाली साहसीको रूपमा चर्चित थिए । ती दुइमध्ये एक रामकृष्ण श्रेष्ठ बितिसक्नु भएको छ भने अर्का प्रताप बिष्ट थिए । साधारण किसान परिवारमा जन्मनुभएका प्रताप जीले हाइ स्कुलको शिक्षा–दीक्षा थाहा नगरको पालुङस्थित जनकल्याण हाइ स्कुलमा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट र साहित्यकार तुल्सी थापाबाट पाएका थिए । किशोरावस्थादेखि नै गरिब किसान र निमुखा जनताको पक्षमा लागेका प्रतापजी तात्कालिन समयको निरंकुश पञ्चायती शासनको विरोधमा बामपन्थी आन्दोलनमा पनि सक्रिय थिए । २०४६ सालको परिवर्तनपछि उहाँ कान्तिपुर राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा र हेटौँडाबाट प्रकाशन हुने कुराकानी साप्ताहिकमा जोडिनु भयो ।

पत्रिकामा लागीसकेपछि समाजमा भएका महत्वपूर्ण कुराहरू थिचिएका मिचिएकहरुको कथा व्यथाहरु जनतालाई सुसूचित गर्ने काममा गाउँ–बस्ती पहरा–कन्दरामा पुग्न घुम्न थाले । समाचार खोज्ने र लेख्ने क्रममा विकट र दूरदराजका सिमान्तकृत जनजाति चेपाङ, वनकरियाहरुको दिनचर्या र जिवनीलाई नजिकबाट नियालेर सरकार र सहयोगीहरुको निरन्तर खोजी गर्दै सहयोग र उद्दार गरिरहे । पेशा र उद्देश्यप्रति इमानदारिता भएपछि गाह्रो साँघुरोलाई बिर्सेर काम गरेकै कारण ओडार र पहरामा बस्ने चेपाङ, निख्रन लागेका वनकरिया, दुख पाएका, थिचिएका–मिचिएका जनजातिहरुका नदेखिएका र नलेखिएका कथाहरु लेखेर समाज र जनतालाई सुसूचित गर्न र गुण लगाउन सकेको हो । वनकरिया बस्तीमा गएर बालबालिकालाई कलम–कापी बाँडेर आफ्नो जन्मदिन मनाउने, चेपाङ बस्तीमा गएर उनीहरुसँगै घुलमिल गरेर रमाएकै कारण प्रतापजी सबैका प्रिय छन् ।

समाजमा परिवर्तन चाहनेहरुले आफ्नो बोली अनुरुपको व्यवहार पनि बनाउनु पर्छ । अहिले हाम्रो समाजमा बोली र व्यवहारमा तादम्यता छैन । बामपन्थी छँदा सिन्दुर र टीका मात्र लगाएर जनवादी बिबाह गरेका प्रताप जीले जेठो छोराको बिहेमा भोजको रकम कट्टा गरी मानवसेवा आश्रममा एक कोठा निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग गरे । यसरी नै हाल कान्छा छोराको बिहेको अवसरमा हेटौँडा–९ स्थित कुश्माण्ड सरावर त्रिवेणीधाममा आकर्षक बुद्धको प्रतिमा स्थापना गरेका छन् ।

सकारात्मक सोच र परिवर्तनका लागि काम गर्नेहरुले फजुल र अनावश्यक खर्च कटाई काम गरे मात्र समाजमा राम्रो सन्देश जाने छ । हामीलाई थाहा छ हिजो एक कप चियाको भरमा सिन्दुर र टीका लगाई जनवादी बिबाह गर्ने समाज रुपान्तरणको गुड्डी हाक्ने कम्युनिस्टहरुले सत्ताको रसस्वादन गरेर अकुत सम्पत्तित्त कमाइसकेपछि अहिले आफ्ना छोरा नातिको बिबाह तारे होटलमा सयौं हजारौंलाई भोज खुवाएर जनतालाई समाजवादमा पुग्ने भ्रम बाँडिरहेको छ । जनताको सेवा र समाजको रुपान्तरण गर्छु भनेर सपथ खाएर सत्तामा पुगेका यस्ता गतिछाडा नेताहरुका लागि प्रताप जीको काम गतिलो झापड हो । साथै समाजका लागि सकारात्मक सन्देश पनि हो ।

लामो पत्रकारिताको अनुभव बहुपक्षीय व्यक्तिहरुसँगको सम्बन्ध अन्तरआत्मादेखिको समाजप्रतिको उत्तरदायित्व बोधको कारण प्रतापजीले समाजमा आफुलाई गौरवका साथ उभ्याउन सकेको हो । राम्रो कामको प्रशंसा गर्ने उसको बानीले समाजमा राम्रो गर्ने व्यक्तिहरुबाट पनि प्रेरणा हुन्छ भनेर मकवानपुर क्याम्पसका संस्थापक प्राचार्य मुकुन्ददास श्रेष्ठ मकवानपुरका लब्धप्रतिष्ठित फुटबल प्रशिक्षक केशवलाल श्रेष्ठ सरल र विचारशील बामपन्थी नेता भक्तबहादुर श्रेष्ठको हेटौँडाको गुम्बाडाँडामा प्रतिमा राख्न सफल हुनुभएको छ ।

हेटौँडाका विभिन्न सामाजिक संस्था सहिद स्मारक विकास समिति, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानलगायतमा जोडिनु भएका प्रतापजी हेटौँडा खानेपानी बोर्डको पनि अध्यक्ष छन् । उनको नेतृत्वमा हेटौँडालाई खानेपानीमा आत्मनिर्भर र सफा स्वच्छ बनाएका छन् । प्रताप बिष्ट एक वरिष्ठ पत्रकार र धेरै व्यक्तिहरुमा हेलमेल भएकोले उनले समाज रुपान्तरणका लागि गरेको योगदान प्रत्यक्ष रूपमा सकारात्मक सन्देश गए जस्तै धेरथोररुपमा आफुलाई नदेखिने गरी योगदान गर्नेहरु पनि हेटौँडामा छन् । त्यसको प्रतिकात्मकस्वरुप मानवसेवा आश्रम लगायत विभिन्न सामाजिक धार्मिक र शैक्षिक संस्थाहरुमा देख्न सक्छौं । राम्रा र असल कुरा जसले समाजलाई प्रगतिको बाटोमा डोर्याउँछ ।