विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै शिक्षा अधिकृत रमेश विडारी ।

हेटौँडाः हेटौँडा–६ स्थित बालजागृति युवावर्ष माविको ४० औँ वार्षिक अभिभावक भेला भएको छ । शनिबार भएको अभिभावक भेलामा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीलाई सम्मान समेत गरिएको छ । अभिभावक भेलाबाट नयाँ समिति चयनका लागि अभिभावकबाट सबै महिला निर्वाचित भएका छन् ।

अभिभावक भेलाबाट चार जना सदस्य सर्वसम्मत चयन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यमा कोपिला चौलागाई, कविता चौलागाई, पार्वती घिमिरे र राधिका लामा छनौट भएका छन् । अभिभावकबाट ४ जना सदस्य चयनपछि व्यवस्थापन समितिले २ जना मनोनित गरेर व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभएको छ ।

वडाध्यक्ष विष्णु बहादुर दहालको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष तिलक प्रसाद दुलाल, विद्यालय व्यवस्थापन समितिका सदस्य पदमलाल दुलाललाई सम्मान गरिएको छ । अभिभावक भेलामा शिक्षक शिवप्रसाद चौलागाई, अभिभावक कविता चौलागाई, विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थी कृतिका ढकाललाई सम्मान गरिएको छ । अभिभावक भेलामा प्रधानाध्यापक अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावक भेलामा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत रमेश विडारीको पनि आतिथ्य रहेको थियो ।