हेटौँडाः नेपाली राष्ट्रिय क्रिकेट टिममा मकवानपुरका रिजन ढकाल पनि छानिएका छन् । क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि प्रशिक्षक मोन्टि देशाइले मकवानपुरका ढकाललाई पनि समावेश गरे हुन् । देशाइले रोहित पौडेलको कप्तानीमा दुई फरक टोली घोषणा गरेका छन् ।
बायाँ हाते मध्यम गतिका बलर ढकाल क्रिकेटको राष्ट्रिय टिममा पर्ने दोस्रो मकवानपुरे खेलाडी हुन् । यसअघि राम नरेश गिरीले राष्ट्रिय टिममा खेलिसकेका छन् । १५ वर्षको उमेरमा यु–१६ राष्ट्रिय टिममा परेका ढकाल यु–१९ राष्ट्रिय टिममा पनि खेलिसकेका छन् । पोखरामा भएको केपी ओली कप र काठमाडौंमा भर्खरै सकिएको प्रधानमन्त्री कप क्रिकेट खेलेका ढकाल राष्ट्रिय टिममा पर्नु मकवानपुरका लागि गर्वको विषय भएको राम नरेश गिरी बताउनुहुन्छ । सन् २०१३ देखि २०१५ सम्म राष्ट्रिय टिममा खेल्नुभएका गिरी ९ वर्षपछि राष्ट्रिय टिममा मकवानपुरे खेलाडी समेटिनु खुसीको कुरा भएको बताउनुहुन्छ ।
रिजनले प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशबाट ९ खेल खेल्दै १५ विकेट लिनुभएको थियो । कर्णाली प्रदेशविरुद्ध ५ विकेट लिनुभएका रिजनले नेपाल पुलिसविरुद्ध ३ विकेट लिनुभएको थियो । २३ वर्षीय रिजन राष्ट्रिय टिममा समावेश हुने लक्ष्यसहित भारतमा समेत पटक–पटक प्रशिक्षणका लागि पुग्नुभएको छ ।
क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग–२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक गरिएको छ । क्यानडाविरुद्ध हुने तीन खेलको सिरिजमा ३ नयाँ अनुहारसहित ४ डेब्यु गर्न बाँकी रहेका खेलाडी टोलीमा रहेका छन् । नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २५ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।
क्यानडा सिरिजका लागि नेपाल यू–१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोलीमा रहेका छन् । त्यस्तै स्पिनर सूर्य तामाङ पनि टोलीमा छन् । देवबाहेक अन्य ४ युवा खेलाडीले भने ओडीआई डेब्यु गर्न बाँकी छ । देव र आकाशले यू–१९ विश्वकपमा प्रभाव जमाएका कारण टोलीमा स्थान बनाएका हुन् । त्यस्तै हेमन्त भने चोटका कारण विश्वकपमा नगएपनि नेपालमै रहेर रिह्याब गरिरहेका थिए । उनलाई प्रशिक्षक देशाइले विगतमा नेट्समा पनि हेरेका थिए । रिजन र सूर्य प्रधानमन्त्री कपमा प्रभाव जमाएपछि टोलीमा आएका हुन् । रिजनले बायाँ हाते बलरको भूमिकामा आफ्नै प्रदेशका प्रतिसलाई पछि पारेका हुन् ।
क्यानडा सिरिजका लागि पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् । पवन लिग–२ टोलीमा पनि समावेश छन् । क्यानडा सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ । विकेटकिपर अर्जुन साउदको नाम पनि क्यानडा सिरिजको टोलीमा छैन । त्यस्तै त्रिकोणात्मक सिरिजका लागि भने युवा खेलाडीमा सूर्य तामाङ र रिजन ढकाल टोलीमा कायम छन् । आकाश चन्द र हेमन्त धामी बाहिर रहँदा देव वैकल्पिकमा छन् । पवन लिग–२ टोलीमा पर्दा विकेटकिपर अनिलसँगै प्रतिस जिसी र विवेक यादव पनि वैकल्पिक छन् ।