हेटौँडाः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव हेटौँडा आउनुहुने भएको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपा मकवानपुरले पार्टीका केन्द्रीय अध्यक्ष हेटौँडा आउन लागेको जानकारी गराएको हो ।
पार्टी मकवानपुर जिल्ला सचिव दीपक सिन्तानका अनुसार आगामी बुधबार हेटौँडामा नगस्तरीय समिति घोषणा कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव आउनुुहुने भएको हो । पहिलो पटक हेटौँडा उपमहानगरपालिकास्तरीय समिति घोषणा हुन लागेको उहाँले बताउनुभयो । यसअघि नगर संयोजकमात्र तोकेर काम गर्दै आइरहेको थियो । कार्यक्रम बुधबार बिहान ११ बजे वन विज्ञान अध्ययन संस्थानबाट र्यालीसहित बुद्धचोकमा औपचारिक कार्यक्रम सुरु गर्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै जसपा मकवानपुरका अध्यक्ष सोमबहादुर घलानले जसपाले मकवानपुरमा पार्टी कमिटी विस्तारलाई अगाडि बढाउने गरी कार्य गरिरहेको बताउनुभयो । जिल्लाभित्रका स्थानीय तहहरुमा कमिटी निर्माणको चरणमा रहेको र हेटौँडाका १९ मध्ये १२ वटा वडामा कमिटी विस्तार भइसकेको पनि उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटीका विज्ञ संयोजक उत्तम गोम्जा, केन्द्रीय सदस्य मेजरमान मोक्तान र नगर कमिटी संयोजक कविन सिन्तानलगायतको उपस्थिति रहेको थियो ।