हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित नेपाल रेडक्रस सोसाइटी बासामाडी उपशाखाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिनुका साथै ५३ जनालाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरेको उपशाखा सभापति राजु घलेले जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय नेवारपानीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गर्नुका साथै कुवापानी सामुदायिक वन उपभोक्ता समूह, जनहित सामुदायिक वन उपभोक्ता समूह, साना किसान कृषि सहकारी संस्था र मनहरी–८ नेपाल रेडक्रस सोसाइटीका सभापति मोहन कार्कीलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्कीले नेपाल रेडक्रस सोसाइटीको भवन निमार्णका लागि आर्थिक एवम् भौतिकरुपले सहयोग गर्नुभएको घलेले जानकारी दिनुभयो ।
उपशाखा अध्यक्ष घलेको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपसभापति खेमराज सापकोटाको विशिष्ट आतिथ्य रहेको थियो । १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी, रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, सहमन्त्री शिवहरि दाहाल तथा सल्लाहकारहरुको उपस्थिति रहेको घलेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखामा हाल ३ सय जना आजीवन सदस्य रहेका छन् ।