हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतनका पूर्वविद्यार्थी संगठित भएका छन् । बुधबार विद्यालयमा भएको एक भेलाबाट ज्ञानदीप पूवविद्यार्थी समाजको संयोजकमा मिलन पाठक चयन हुुनु भएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा विद्यालयको २३औं वार्षिकोत्सवको अवसरमा पूर्वविद्यार्थी भेला भएको विद्यालयका सहायक प्रधानाध्यापक दीपक गौतमले जानकारी दिनुभयो ।
पाठकको संयोजकत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ । गौतमका अनुसार पूर्वविद्यार्थीलाई जोड्ने, विद्यालयको शैक्षिक विकास गर्ने, सल्लाह गर्ने, सामाजिक गतिविधिमा संलग्न हुने उद्देश्यले पूर्वविद्यार्थी समाज गठन गरिएको हो । पूर्वविद्यार्थी समाजको सह–संयोजकमा स्वेच्छा दंगाल, सचिवमा प्रज्वला गजुरेल, कोषाध्यक्षमा साहस गोपाली चयन हुनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता तथा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष राजेश घिमिरेको प्रमुख आतिथ्यमा पूर्वविद्यार्थी भेला भएको हो । पछिल्लो समय मकवानपुर जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा पूर्वविद्यार्थीलाई संगठित गर्दै रचनात्मक कार्य गर्ने, विद्यालयको शैक्षिक सुधारको प्रयास गर्ने क्रमम बढेको छ ।