हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट यस वर्ष २ सय ९७ जना विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । गाउँपालिकामा रहेका १० वटा माध्यमिक विद्यालयबाट २ सय ९७ जना विद्यार्थीले परीक्षा दिने गाउँपालिकाका विद्यालय निरीक्षक दाशरथी उपाध्याय भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको भानु माविबाट ४७, चण्डिका माविबाट २३, शारदा माविबाट ६८, वंशगोपाल माविबाट ३३, जाल्पादेवी माविबाट २२, जनक माविबाट १९, जनता माविबाट २८, रुपनारायण माविबाट १६, मनकामना माविबाट १३ र रानिशेरा माविबाट २८ जना विद्यार्थीले एसईई परीक्षा दिने भण्डारीले जानकारी दिनुभयो । गत वर्षको एसइई परिक्षामा ९५.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
ग्रेडवृद्धितर्फ यसवर्ष एक जना पनि विद्यार्थी नरहेको उहाँले जानकारी दिनुभयो । एसईईका लागि विद्यार्थीहरुले तयारी गरिरहेको र विद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गराउँदै आएको छ ।
मकवानपुरगढीका विद्यालयहरुमा माघ २५ गतेबाट एसईईको अभ्यास परीक्षा सुरु हुनेछ । विद्यार्थीले गाउँपालिकाले दिएको प्रश्नपत्रअनुसार परीक्षा दिनेछन् । पहिलो त्रैमासिक परीक्षाको तुलनामा दोस्रो त्रैमासिक परीक्षाको नतिजामा सुधार आएको निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
मकवानपुरगढीमा आधारभूत (कक्षा ५ सम्मका) विद्यालय २० वटा, आधारभूत (कक्षा ८ सम्मका) विद्यालय ७ वटा र माध्यमिक विद्यालय १० वटा रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरगढीमा आधारभूत विद्यालयमा तीन हजार ७ सय ८२ जना र माध्यमिक विद्यालयमा दुई हजार ८ सय गरी छ हजार ५ सय ८२ जना विद्यार्थी रहेको निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।