वृद्धवृद्धाहरुलाई सम्मान गरिदैको तस्वीर ।

हेटौंडाः हेटौंडा–११ स्थित शहीद स्मारकमा जारी शहीद सप्ताहअन्तर्गत् वृद्धवृद्धाहरुलाई सम्मान गरिएको छ । सप्ताहको दोस्रो दिन बिहीबार स्मारक व्यवस्थापन समिति र हेटौंडा–११ को संयुक्त आयोजनामा वडाभित्रका वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो ।
वडाभित्रका ८० वर्षभन्दा माथिका १ सय जना वृद्धवृद्धाहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको शहीद स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । वृद्धवृद्धाहरुलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाललगायतले सम्मानपत्र प्रदान गर्नुुभयो ।

बिहीबार नै कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवद्र्धन मेलाको शुभारम्भ गरिएको व्यवस्थापक न्यौपानेले बताउनुभयो । मेलामा ३२ वटा स्टलमा वडाभित्र उत्पादन भएका कृषि सामग्री र पर्यटकीय वस्तुहरु राखिएको उहाँले बताउनुभयो । सप्ताहको पहिलो दिन बुधबार शहीद स्मारक क्षेत्रमा बुद्धपार्क उद्घाटन गरिएको थियो ।

सप्ताहअन्तर्गत् शुक्रबार वडास्तरीय नृत्य प्रतियोगिता हुने व्यवस्थापक न्यौपानेले बताउनुभयो । प्रतियोगिता बिहान ११ बजेबाट सुरु हुनेछ । यस्तै, शनिबार रक्तदान कार्यक्र र ‘शहीद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता हुनेछ ।

यस्तै, माघ १४ गते आइतबार वडास्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते सोमबार राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, शहीदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुनेछ ।