बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको संयुक्त भवन ।

हेटौंडाः बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अर्धवार्षिक समीक्षा गरेको छ । मंगलबार मन्त्रालयको सभाहलमा मन्त्रालयअन्तर्गत्का १० वटै कार्यालयले प्रस्तुतिकरण गरेको मन्त्रालयका उपसचिव खुबिराम अधिकारीले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमुख आभिभावकत्व र सचिव डा. भीष्मकुमार भुसालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. नरविक्रम थापाको आतिथ्य रहेको थियो भने प्रदेश कार्यालय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रदेशका विभिन्न प्रतिनिधिहरुको सहभागितामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेको तथा गर्न नसकेको कामको समीक्षा गरिएको अधिकारीले बताउनुभयो । यस्तै, कार्यक्रममा आगामी दिनको योजना, वर्षको लक्ष्य प्राप्ती गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

६ महिनाको कार्यकालको कमी, कमजोरी तथा आगामी ६ महिनामा बाँकी लक्ष्य पूरा गर्ने विषयमा छलफल तथा प्रस्तुतिकरण भएको छ । अधिकारीका अनुसार गजुरी र धुलिखेलमा एक दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, सरुवा, बढुवासम्बन्धी कार्य, गरिबी निवारण नीतिको मस्यौदा लेखन कार्य भइरहेको छ । जनशक्ति कमी रहेका कारण विनियोजित रकम लक्ष्यअनुसार खर्च हुन नसकेको उपसचिव अधिकारीले बताउनुभयो ।