गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई ध्यानाकर्षणपत्र बुझाउँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका युवा अभियान तथा बाल अधिकारकर्मीले बालमैत्री अभियानलाई निरन्तरता दिन माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुभाएका छन् । गाउँपालिकालाई नेपालमै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरे तापनि बालमैत्री निरन्तरताका लागि गर्नुपर्ने काममा कमी कमजोरी भएको भन्दै गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई सोमबार बाल अधिकारकर्मीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

गाउँपालिकामा बालविवाह, बालश्रम, बालहिंसा, लागूपदार्थ दुव्र्यसनीजस्ता घटनाहरु प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष कालाखेतीलाई ध्यानाकर्षण गराइएको बाल अधिकारकर्मी आशीष बुढाथोकीले बताउनुभयो । केही दिन पहिले मनहरी गाउँपालिका–५ मा भएको बालविवाहलाई रोक्ने उद्देश्यले बाल सञ्जालका पदाधिकारीहरुले गाउँपालिकालाई जानकारी गराउँदा पनि गाउँपालिकाले चासो नदेखाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकामा होटल तथा ग्यारेजहरुमा अत्याधिक मात्रामा बाल श्रमिकहरु पाइने गरेको बाल अधिकारकर्मी बुढाथोकीले बताउनुभयो । बाल अधिकारकर्मीहरुले अहिलेसम्म एक सयभन्दा बढी हुन लागेको बालविवाहलाई रोकेको उहाँले बताउनुभयो । गाउँपालिकाका बालमैत्री समूहकै एक सदस्यले १५ वर्षको उमेरमा बालविवाह गरेको उहाँको भनाइ छ । बालविवाह न्यूनीकरण गर्ने सबैको जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मनहरी गाउँपालिकाका युवा अभियान तथा बाल अधिकारकर्मीले गाउँपालिका अध्यक्षलाई बुझाएको ध्यानाकर्षणपत्र ।

गाउँ कार्यपालिकाको पूर्वसदस्यकै परिवारमा बालविवाहको घटना भएको भन्दै पालिकाको ध्यानाकर्षण गराएको बताइएको छ । ध्यानाकर्षण गराउँदा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले परिवारले नै ध्यान नदिँदा हामीले के गर्ने भन्ने जस्तो गैरजिम्मेवार जवाफ दिएको भन्दै दुख व्यक्त गरेका छन् । केहीदिन अघि मात्रै मनहरी गाउँपालिकामा तीनजना बालश्रमिकको उद्दार गरिएको थियो ।