हेटौंडाः पूर्वराजा ज्ञानेन्द्र शाहले हेटौंडाको गुम्बा तथा मन्दिरलगायत धार्मिक क्षेत्रको अवलोकन, भ्रमणसँगै पूजाआराधना गर्नुभएको छ । आइतबार पूवराजा शाहले हेटौंडा–१३ को गुम्बा र हेटौंडा–१० को भूटनदेवी मन्दिरमा पूराआराधना गर्नुभएको हो ।

मकवानपुर र बाराको सिमानास्थित चुरियामाई मन्दिर क्षेत्रमा पुगेर हेटौंडामा स्वागत गरिएको थियो । धनुषा, बारा पर्सा, रौतहट, चिववनदेखिका हजारौंको संख्यामा मानिसले पूर्वराजा शाहको स्वागत गरेका थिए ।

पूर्वराजालाई चुरियामाई मन्दिरमा स्वागत गरी विभिन्न नाराबाजी गर्दै हेटौंडा–१३, पदमपोखरीको ज्याङ्छुपलिङ पोतला गुम्बामा पु¥याइएको थियो । पूर्वराजा शाहले ज्याङ्छुपलिङ पोतला गुम्बामा पूजाआराधना गर्नुभयो । गुम्बाको पूजापछि पूर्वराजा शाहले सर्वसाधारणसँग भेट गर्नुभयो ।

हेटौंडा–१० को भूटनदेवी मन्दिर क्षेत्रमा करिब २ सय मिटर पैदलयात्रासँगै सर्वसाधारणसँग भेट्दै पूजाआराधना गर्नुभयो । पूर्वराजालाई स्वागत गर्न राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार एक सय ११ जनाको मूल समारोह समिति गठन गरिएको थियो । पूर्वराजा शाहको स्वागतको क्रममा केहीबेर पूर्व–पश्चिम राजमर्ग अस्तव्यस्त बन्यो ।

प्रतिनिधिसभा सदस्य सिंहले देशका युवा, महिला, उद्योगी, व्यवसायीले राजा नै देशमा आवश्यक भनि आवाज उठाएको दाबी गर्दै अब राजा ल्याउन आवश्यक रहेको बताउनुभयो । देशमा जनताको बाँध टुटेको बताउँदै सिंहले भन्नुभयो, ‘जनता आजित भइसकेका छन् । देशमा राजा आवश्यक छ, जतिबेला पनि व्यवस्था पल्टिन सक्छ, राजा आउने निश्चित छ, जनताले चाहेको अवस्थामा राजा फर्कन सक्छन् ।’

आफू एटा पार्टीको नेता भए पनि आज पार्टीको झण्डाबिना राष्ट्रको झण्डामुनि रहेर हिँडेको सिंहको भनाइ छ । आजको सहभागिता हेर्दा जनताले साथ दिएको देखिएको भन्दै राप्रपा नेता सिंहले पार्टीको कारण देश बर्बाद भएको बताउनुभयो । ‘किसान भौकै छन्, पार्टीका नेता डकारेको डकारेकै छन्’, सिंहले भन्नुभयो– ‘देशमा कुनै काण्ड गर्न सरकारले बाँकि राखेको छैन । अहिलेको सरकार देश लुट्ने, जनता मार्ने काममा लागेको छ । दिनदहाडै सरकारले जनतालाई गोली ठोकेर मार्दैछ ।’ हरुवाले मिसन चौरासी भन्दै हिँड्ने भन्दै उहाँले आफूहरु ८१ सालमै राजा ल्याउने पक्षमा रहेको बताउनुभयो । कुनै गाडीघोडाबिना जनताले साथ दिएकाले देशमा राजाको आवश्यक अनुभव भएको सिंहले जिकिर गर्नुभयो ।