हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपामा अपाङ्गता भएका दिदी–भाइलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकारीले घरमै पुगेर नागरिकता वितरण गरेका छन् । जिल्लाको विकट स्थानका अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा कार्यक्रमको लाभ समेत लिन सकोस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज पौडेल नेतृत्वको कर्मचारीको एक समूहले शनिबार दिउँसो १६ वर्षीय सुरेन्द्र थिङ र २० वर्षीया सुनिता थिङलाई नागरिकता वितरण गरिएको छ ।
भीमफेदी–८ को महादेवटारदेखि स्वाँरासम्म ४ घण्टा हिँडेर इपा पुगेका प्रशासकीय अधिकृत पौडेल, नासु सहदेव आचार्य र अश्विन अर्यालले सुरेन्द्र र सुनितालाई नागरिक वितरण गर्नुभएको हो । जन्मजात शारीरिक एवम् मानसिक अपाङ्गता भएका दिदीभाइको अवस्था बुझेर बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई नागरिक वितरणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
नागरिक वितरण गरेर फर्कनु भएका प्रशासकीय अधिकृत पौडेलका अनुसार सुरेन्द्र र सुनिता दुवैजना पूर्णतः ओछ्यानमै सुतेर बस्न बाध्य छन् । हिँड्डुल गर्नुपर्ने २ वर्ष उमेर पुग्नै लाग्दा नसामा समस्या भएर हिँड्डुल गर्न नसकेका दिदी–भाइ उचित स्याहारको अभावमा कम्मरमुनीको भागमा घाउ समेत भएको छ । अपाङ्गता भएका सुरेन्द्र र सुनिताकी आमा दोस्रो विवाह गरेर गएको र बाबुले पनि दोस्रो विवाह गरेका छन् । दोस्रो विवाहपछि कान्छी आमाबाट जन्मिएका दुइ बच्चा भने सामान्य छन् ।
सुरेन्द्र र सुनिताले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता प्राप्तिको प्रक्रियामा सहभागी हुन सक्ने र मासिक जनही ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै पुगेर बागमती गाउँपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका एकजनालाई नागरिकता वितरण गरिसकेको छ । थाहा नगरपालिकाका २ जना र बागमती गाउँपालिकाका एकजना अपाङ्गता भएका व्यक्तिलाई पनि नागरिक वितरण गर्ने प्रक्रियामा रहेको जानकारी दिनुहुँदै छिट्टै तीनैजनालाई नागरिकता वितरण गरिने पौडेलको भनाइ छ ।