हेटौैंडाः हेटौडा उपमहानगरपालिका–१२, पदमपोखरीका बासिन्दा योगेश अर्यालको आँखाको नानी संकलन गरिएको छ । दुर्घटनामा परी मृत्यु भएका अर्यालको परिवारले उनको आँखाको नानीले दृष्टिविहीनले आँखाको दृष्टि पाउने सुनेपछि नानी दान गरेका हुन् ।
परिवारकोे ईच्छाअनुसार स्वर्गीय अर्यालको आँखा दान गरिएको हो । अर्यालका आँखाको दानप्रति छिमेकीको समेत समन्वय रहेको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौंडा–४, खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात् विभिन्न समयमा गरेर हालसम्म १९ जनाको आँखाको नानी संकलन गरिएको छ । आर्यलको आँखाको नानीसहित यो २० औं आँखाको नानी संकलन हो ।
हेटौंडा अस्पतालबाट आइतबार संकलन गरिएको नानीलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा राखिएको छ । उक्त आँखाको नानीलाई आज सोमबार काठमाडौंको आइबैंकमा पठाउने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक भएको व्यक्ति, नानीमा समस्या भएर दृष्टिबिहीन भएका व्यक्तिलाई उक्त नानी वितरण गरिने श्रेष्ठले बताउनुभयो ।
रुखको हाँगाले च्यापिएर अर्यालको शनिबार मृत्यु भएको थियो । शनिबार सोल्टीचोक नजिक रहेको रुखको हाँगा काट्ने क्रममा हाँगाले काँधमा च्यापेर उनको मृत्यु भएको हो ।