हेटौंडाः आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ४ सिटको लागि १५ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन दलबाट ४ जना, नेकपा एमालेका ४ जना, नेपाल मजदुर किसान पार्टीबाट ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जनाको उम्मेदवारी रहेको छ । बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका, दलित समूहका लागि ३ राजनीतिक दलका, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका र अन्य समूहका लागि ४ राजनीतिक दलका गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
मनोनयन दर्ता गराउनेमा गठबन्धनबाट नेपाली काँग्रेसका जीतजंग बस्नेत (ललितपुर) र विष्णुदेवी पुडासैनी (काठमाडौं) रहनुभएको छ । यस्तै, माओवादीबाट नुवाकोटका श्रीकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दोलखाका घनश्याम रिजाल रहनुभएको छ । एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेल रहनुभएको छ । नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरका हिमालयश्वरलाल मुल, काठमाडौंका श्रीकृष्ण महर्जन, भक्तपुरका संगीता नेपाली र भक्तपुरका कृष्णलक्ष्मी दुवाल उम्मेदवार रहनुभएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवनका भरतमणि भट्ट, लमजुङका हेमजङ्ग गुरुङ, बालकुमारी डल्लाकोटी रहनुभएको छ । बागमती प्रदेशमा प्रदेशसभा सदस्य १ सय १० जना र २ सय ३७ स्थानीय तहका प्रतिनिधि गरी ३ सय ४७ जनाले मतदान गर्नेछन् । हेटौंडा–४ स्थित भूूटनदेवी माविमा बागमती प्रदेशको मतदानस्थल तोकिएको छ । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको छ ।











