हेटौंडाः संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शनिबार उद्योग संघ मकवानपुरको २२ औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रले दिगो र फराकिलो अवधारणा तय गर्न सक्ने उहाँले बताउनुभयो । औद्योगिक विकासले देशमा रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सुधार आउने उहाँको भनाइ छ । सरकार आफंले उद्योग सञ्चालन गर्नेभन्दा पनि निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि अनुकूल वातावरण बनाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको उहाँले बताउनुभयो । वर्तमान सरकारले आवश्यक नीति नियम तर्जुमा गर्ने, लगानीको वातावरण, औद्योगिक सुरक्षाको प्रत्याभूति दिने र सहुलियत दिनेजस्ता विषयमा केन्द्रित भएर काम गरिरहेको उहाँले दाबी गर्नुभयो । आद्यौगिक क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले आवश्यक बजेट छुट्याएको भन्दै औद्योगिक क्षेत्रमा विद्युत् क्षमता बढाउन विद्युत् प्राधिकरणसँग पहल भइरहेको पनि उहाँले बताउनुभयो । मन्त्री रिजालले हेटौंडा कपडा उद्योगको पूर्वाधारलाई प्रयोग गरी नेपाली सेनाद्वारा उद्योग सञ्चालन गर्ने प्रस्ताव प्राप्त भएको जानकारी गराउनुहुँदै यसबारे छिट्टै टुङ्गो लगाउने बताउनुभयो । उहाँले हेटौंडा कपडा उद्योगमा रहेका मेसिनले काम गर्ने अवस्था नरहेकाले सबैसँग छलफल गरी छिट्टै टुङ्गो लगाउने आश्वासनसमेत दिनुभयो ।
हेटौंडा औद्योगिक क्षेत्रमा प्रयोगविहीन रहेका संरचना तथा जमिनमा नयाँ उद्योग प्रवद्र्धन गर्ने मन्त्री रिजालले बताउनुभयो । मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन गर्न सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको उहाँले बताउनुभयो । उद्योगहरुलाई पीपीपी मोडेलमा अगाडि बढाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । वर्तमान सरकार मुलकमा औद्योगिक वातावरण तयार गर्न र नयाँ उद्योग प्रवद्र्धन गर्न सकारात्मक रहेकोले व्यवसायीहरुले सरकारले केही गर्छ भन्ने विश्वास लिएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले देशमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले अहिले उद्योगी र व्यवसायीहरुलाई लगानीमैत्री वातावरण नदिएको उहाँले आरोप लगाउनुभयो । अहिले उद्योगी तथा व्यवसायीहरु निराशामा रहेको बताउनुहँदै सरकारले चाँडै अभिभावकत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मकवानपुर औद्योगिक नगर भएपनि आजको परिस्थितिमा उद्योगको विकास हुन सकेको अवस्था रहेको उहाँले बताउनुभयो । सरकारले मयूरधापमा औद्योगिक क्षेत्र घोषणा गरेपनि कुनै कार्य गर्न नसकेको उहाँले बताउनुभयो । उद्योग क्षेत्र कमजोर हुँदै जानुको अर्थ नेपालका युवाहरु विदेशिनुपर्ने अवस्था बन्दै गइरहेको छ भन्ने संकेत रहेको उहाँको भनाइ छ । देशमा अहिले पहुँचमा हुनेहरुको मात्रै उद्योग चल्न सकिरहेको अन्य उद्योगहरु भने धराशायी अवस्थामा पुगेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य एवम् पूर्वजलस्रोत राज्यमन्त्री दीपकबहादुर सिंहले देशमा उद्योगको विकास नहुनुमा राजनीतिक नियुक्ति रहेको बताउनुभयो । सरकारले राजनीतिक दलका असक्षम मान्छेलाई उद्योग चलाउने जिम्मा दिँदा सरकारी उद्योग डुबेको उहाँको भनाइ छ । हेटौंडा सिमेन्ट उद्योग अहिले बन्द हुने अवस्थामा पुग्नु राजनीतिक नियुक्ति भएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले उद्योगलाई बचाउन राजनीतिक नियुक्ति बन्द गरेर अनुभवी मान्छेलाई उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । आफू राज्यमन्त्री हुँदा देशभरका उद्योगहरुमा लोडसेडिङ अन्त्य हुनुपर्ने माग गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले मुलुकमा उद्योग बन्द गराएर युवाहरुलाई विदेशिन बाध्य बनाइरहेको पनि आरोप लगाउनुभयो । सरकार रेमिट्यान्स र कमिशन खान रमाइरहेकाले युवाहरु विदेश जाओस् भन्ने चाहिरहेको उहाँले बताउनुभयो । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले राज्यले खर्च गर्ने क्षमता बढाउएर उद्योगहरु चल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारको बजेट खर्च हुँदामात्रै उद्योगहरुले उत्पादन गरेको वस्तुहरु प्रयोगमा आउने भन्दै उहाँले सरकारले खर्च बढाउनुुपर्ने आवश्यकता रहेको बताउनुभयो । मुलुकमा अहिले उद्योगी तथा व्यवसायीहरु निराश रहेको बेला बैंकले च्यापेर झन तनाव दिइरहेको उहाँको भनाइ छ । यवसायीको मर्का सरकारले बुझेर उद्योगमैत्री नीति ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले मुलुकको आर्थिक वृद्धिदर कमजोर हुँदै गएको बताउनुभयो । बढ्दो महङ्गीका कारण उद्योगीहरु आर्थिक चपेटामा परेको उहाँले बताउनुभयो । उहाँले सरकारले पुँजीगत खर्च बढाएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । मुलुक जलस्रोत धनी भएपनि शुल्क तिर्छु भन्दा पनि विद्युत् नपाउने स्थिति रहेको उहाँको भनाइ छ । वैदेशिक लगानी र आर्थिक विकासबिना मुलुकको विकास असम्भव रहेको उहाँले बताउनुभयो । उहाँले सरकारले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उद्योगहरु नचल्दा आर्थिक वृद्धिदर कमजोर, बेराजगारी बढेको र सरकारले राजस्व गुमाइरहेको उहाँको भनाइ छ ।
संघले साधारणसभाको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई नगद २१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ भने सञ्चारकर्मी राममणि दाहाललाई सम्मान गरेको छ । साधारणसभामा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त र उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण अग्रवाललगायतको आतिथ्य रहेको थियो ।