फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् वडा नम्बर १ र ५ सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा सिनियरतर्फ वडा नम्बर ५ र जुनियरतर्फका १ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको पालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत् बुधबार भएको सिनियरतर्फको खेलमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई हराउँदै सेमिफाइनमा प्रवेश गरको छ । वडा नम्बर ५ ले ७ लाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको वडा नम्बर ५ ले वडा नम्बर ४ सँग खेल्नेछ । वडा नम्बर ४ यसअघि नै बाइ पाएर सेमिफाइनल प्रवेश गरिसकेको छ । यस्तै, मंगलबार भएको खेलमा विजयी हुँदै वडा नम्बर ३ नम्बर पनि सेमिफाइन प्रवेश गरिसकेको छ ।

प्रतियोगिताअन्तर्गत् बुधबार भएको जुनियरतर्फको खेलमा २ नम्बर वडालाई हराउँदै वडा नम्बर १ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर १ ले २ लाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । सेमिफाइन प्रवेश गरेको वडा नम्बर १ ले १० नम्बरसँग सेमिफाइनलमा भिड्नेछ । यसअघि १० नम्बर वडा बाइ पाएर सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत् बिहीबार सिनियर र जुनियरतर्फका एक–एक खेल हुनेछ । बिहीबारको पहिलो खेलमा सिनियरतर्फ वडा नम्बर ८ र ९ बीच प्रतिस्पर्धा हुनेछ भने जुनियरतर्फ वडा नम्बर ११ र १२ बीच प्रतिस्धर्पा हुनेछ । बिहीबार प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने अध्यक्ष थिङले बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।